काठमाडौं। धादिङको गंगाजमुना गाउँपालिका-६ बांगेपिपलस्थित बसेराकी पार्वती कार्कीले एनसेलको ‘सधैं अन करोडपति’ योजनाअन्तर्गत १ करोड रुपैयाँ नगद पुरस्कार जितेकी छन्। गत असार १ देखि ३२ गतेसम्म संचालन भएको उक्त योजनामा कार्कीले बम्पर पुरस्कार जितेको एनसेलले जनाएको छ।
उनले झण्डै ८ वर्षअघि एनसेलको सिम किनेकी थिइन्। गत असारको तेस्रो साता ९९ रुपैयाँको ‘बेसिक रिन्युअल’ प्याक किनेर उनी उपहार योजनामा स्वतः सहभागी भएकी थिइन्।
उनले विसं २०७२ सालको भुईँचालोमा धन्सारमा सुतिरहेको एक महिना दुई दिनको कान्छो छोरा गुमाएकी थिइन्। भुईँचालोले छोरासँगै निर्माण सकेर घरपूजा गर्ने तरखरमा रहेको घर पनि ढलाएको थियो।
त्यसपछि अझ बढी आर्थिक अवस्थाले थिचिएकी उनले ऋण गरेर श्रीमानलाई वैदेशिक रोजगारीमा पठाएकी थिइन्। गाउँमा खेती किसानी गर्ने कार्की महिला स्वास्थ्य स्वयंसेविका पनि हुन्। उनका श्रीमान् अहिले बहराइनमा छन् भने छोरा काठमाडौंमा प्लस टुमा अध्ययनरत छन्।
एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा कार्कीलाई बम्पर उपहारअन्तर्गतको एक करोड रुपैयाँ हस्तान्तरण गरे। बम्पर पुरस्कार बुझ्दै कार्कीले आफूले जीवनमा कहिल्यै नसोचेको उपहार प्राप्त गरेको बताइन्।
‘मैले जीवनमा कैयौँ दुखहरू भोगेकी छु, तर कहिल्यै हार नमानी कर्म गर्दै परिवारलाई अगाडि बढाउँदै आएकी थिएँ। मेरो सोच र मैले गरेको संघर्षको परिणाम स्वरुप यो पुरस्कार प्राप्त भएको हो भन्ने लाग्छ,’ उनले भनिन्।

श्रीमानलाई विदेश नफापेपछि उनले केही समय काठमाडौंमा व्यापार पनि गरिन्। तर, केही महिनामै लाखौँ रुपैयाँ घाटा भएपछि कार्कीले श्रीमानलाई फेरि विदेश पठाइकी थिइन्।
‘अहिले पनि श्रीमान् विदेश जाँदाको र अरु ऋण बाँकी छ, श्रीमानको स्वास्थ्य पनि राम्रो छैन। अब ऋण तिर्नका लागि रोगी शरीर घोटिनु परेन, नेपालमै श्रीमान-श्रीमती मिलेर केही उद्यम गर्ने सोच छ। छोरोको शिक्षामा लगानी गर्छौँ,’ उनले सुनाइन्।
एनसेलले ल्याएको उक्त योजनामा कार्कीले बम्पर नगद पुरस्कार जितेकी हुन्। सोही योजनामा अन्य ५० जना ग्राहकले साप्ताहिक पुरस्कार स्वरुप १ लाख रुपैयाँ नगद पुरस्कार जितेका छन्।
एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन बमोजिम १२ हप्ताका लागि संचालनमा ल्याएको यो योजना पाँचौ हप्ताको बीचमा नै साउन १ गतेबाट बन्द गरेको थियो।
कार्कीसहित ३६ जनालाई नगद पुरस्कार हस्तान्तरण गरिसकिएको र बाँकी १५ जना १ लाख रुपैयाँ जित्ने ग्राहकलाई पनि प्रमाणीकरणको प्रक्रिया पुर्याइ पुरस्कार प्रदान गरिने एनसेलले जनाएको छ।










