विशेष अदालतले पायो गुणस्तर मापदण्डको अन्तर्राष्ट्रिय चिन्ह, अध्यक्ष कुँवर भन्छन् ‘सुधारको नतिजा’

बिजमाण्डू
२०८२ असार २५ गते १५:१२ | Jul 9, 2025
विशेष अदालतले पायो गुणस्तर मापदण्डको अन्तर्राष्ट्रिय चिन्ह, अध्यक्ष कुँवर भन्छन् ‘सुधारको नतिजा’

काठमाडौं। विशेष अदालतले अन्तर्राष्ट्रिय मापदण्ड संगठन (आईएसओ) को गुणस्तर चिन्ह प्राप्त गरेको छ। विशेष अदालतमा बुधबार नेपाल गुणस्तर तथा नापतौल विभागले अदालतका अध्यक्ष टेकनारायण कुँवरलाई गुणस्तर चिन्हको प्रमाणपत्र हस्तान्तरण दिएको हो।

Tata
GBIME

अध्यक्ष कुँवरले आफ्नो कार्यकालमा भएका केही सुधार, योजना र कार्यान्वयन अनुसार चिन्ह प्राप्त गर्न सफल भएको बताएका छन्। १० वर्ष अघिदेखि नै आफूले यस बारेमा काम गर्ने सोच बनाएको र अहिले विशेष अदालतमा आइपुग्दा सफलता हासिल गरेको भन्दै उनले खुसी व्यक्त गरेका छन्।

अदालतले तयार गरेको योजना, कार्यान्वयनलाई आधार बनाएर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार चिन्ह पाएको विभागले जानकारी दिएको छ। अदालतले प्राप्त गरेको चिन्ह तीन वर्षसम्म कायम हुनेछ। त्यसपछि पुनः अदालतको योजना कार्यान्वयन लगायत पक्षलाई हेरेर निरन्तर हुने वा नहुने निर्धारण हुनेछ।

गएको आर्थिक वर्षमा विशेष अदालतले स्थापनाताका नै सबैभन्दा धेरै ८८ प्रतिशत मुद्दा फर्छ्यौट गरेको थियो।