सिक्टा सिँचाइ आयोजनाको पश्चिमी क्षेत्रमा छैटौं शाखा नहर निर्माण, एक लाख जनसंख्या लाभान्वित हुने

बिजमाण्डू
२०८२ असार १७ गते १६:१७ | Jul 1, 2025
सिक्टा सिँचाइ आयोजनाको पश्चिमी क्षेत्रमा छैटौं शाखा नहर निर्माण, एक लाख जनसंख्या लाभान्वित हुने

काठमाडौं। राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत पश्चिमी मूल नहरको छैटौं शाखा नहर निर्माण भएको छ।

Tata
GBIME

बाँकेको बैजनाथ गाउँपालिका–५ मा पर्ने गुरुवागाउँ शाखा नहर ठेक्का सम्झौताको समय सकिनु २१ महिना अगावै सम्पन्न भएको हो।

तीन वर्षभित्र नहर निर्माणका लागि २०८० चैत १८ गते भैरव सुभानी जेभीसँग ३७ करोड ८२ लाख ८४ हजार रुपैयाँको ठेक्का सम्झौता भएको थियो।

बाँकेको बैजनाथ र खजुरा गाउँपालिकामा खेतीयोग्य जमिन सिँचाइ गर्ने लक्ष्यका साथ गुरुवागाउँ शाखा नहर निर्माण गरिएको हो।

कुल ११ किलोमिटर लामो यो नहरबाट ७ हजार ८१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगी एक लाख जनसङ्ख्या लाभान्वित हुने आयोजनाको अनुमान छ।

निर्माण सम्पन्न भएसँगै नहरमा सोमबारदेखि पानी छाडेर परीक्षण थालिएको छ। नहरमा पानी छाडिएपछि किसानहरु हर्षित भएका छन्।

रोपाइँको समयमा किसानले पम्पसेट लगाएर नहरबाट धमाधम पानी तान्न थालेको आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिए। उनका अनुसार यो नहरबाट प्रशाखा र उपशाखा निर्माण भएपछि किसानलाई अझ सहज हुनेछ।

स्थानीयको सहजताका लागि बस्ती क्षेत्रको नहर छेउछाउमा तारजाली लगाइएको छ भने कतिपय स्थानमा सिँढीसमेत बनाइएको छ।