
काठमाडौं। तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा एमाले र मदन भण्डारी फाउण्डेसनले आज विविध कार्यक्रमको आयोजना गरेको छ। फाउण्डेसनको आयोजनामा राष्ट्रियसभा गृहमा ‘जबजका तीन दशक’ विषयक अन्तक्र्रिया कार्यक्रम भएको छ।
उक्त कार्यक्रमका दौरान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एउटै मञ्चमा देखिएको छ।


एमालेले आज जयन्तीको अवसरमा पदयात्राको पनि आयोजना गरेको थियो। कमिटीको आयोजनामा बिहान ७ः३० बजेदेखि ८ः३० बजेसम्म त्रिपुरेश्वरदेखि दशरथ रङ्गशाला हुँदै तीनकुनेसम्म पदयात्रा गरिएको थियो।
एमालेले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टीको सिद्धान्त बनाएको छ। एमालेले पाँचौँ राष्ट्रिय महाधिवेशनबाट जबजलाई नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा पारित गर्दै सिद्धान्त बनाएको हो।

मदन भण्डारी २०४६ सालमा भएको नेकपा (माले)को चौथो महाधिवशेन र २०४७ सालमा नेकपा (माले) र नेकपा (मार्क्सवादी) बीच एकता भई नेकपा (एमाले)को पनि महासचिव बनेका थिए। यस्तै, एमालेको २०४९ सालमा भएको पाँचौँ महाधिवेशनबाट पनि उनी महासचिवमा चुनिएका थिए। मदन भण्डारी २०४८ सालका संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।

भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटना हुँदा निधन भएको थियो।




