चीन पुगेर ऊर्जामन्त्री खड्काले भने- नेपाल क्षेत्रीय ऊर्जा सहकार्यमा अग्रसर छ

बिजमाण्डू
२०८२ असार १२ गते १२:५९ | Jun 26, 2025
चीन पुगेर ऊर्जामन्त्री खड्काले भने- नेपाल क्षेत्रीय ऊर्जा सहकार्यमा अग्रसर छ

निङ्बो। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा सुरक्षाका लागि नवप्रवर्तनात्मक सहकार्य अनिवार्य रहेको बताएका छन्।

Tata
GBIME

चीनको जेझियाङ प्रान्तस्थित निङ्बो सहरमा ‘इन्टिग्रेट इनोभेसन फर इनर्जी फ्युचर’ भन्ने मूल नारासहित आयोजित शाङ्हाइ सहयोग संगठन (एससीओ) को पाँचौं ऊर्जा मन्त्रीस्तरीय बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री खड्काले उक्त धारणा राखेका हुन्।

मन्त्री खड्काले एससीओ सदस्य राष्ट्रहरूबीच ऊर्जा विकास, ग्रिड कनेक्टिभिटी, नवप्रवर्तन, ऊर्जा सुरक्षाको प्रवर्धन र क्षेत्रीय सहकार्यलाई सुदृढ गर्नुपर्नेमा जोड दिए। ऊर्जा अब व्यापारको विषय मात्र नभई दिगो विकास र साझा समृद्धिको आधार बन्न पुगेको भन्दै उनले एससीओ क्षेत्रलाई साझेदारी र नवप्रवर्तनमार्फत ऊर्जा स्वतन्त्रताको यात्रामा अघि बढाउनु आवश्यक रहेको उल्लेख गरे।

नेपालको ऊर्जा योजनाबारे जानकारी दिँदै मन्त्री खड्काले भने, ‘नेपालले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ, जसमा १५ हजार मेगावाट निर्यात गरिनेछ।’

हाल नेपालमा ३ हजार ५०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन भइसकेको र सरकारको योजना निकट भविष्यमै यो दोब्बर बनाउने रहेको उनले स्पष्ट पारे।

मन्त्री खड्काले भारतसँग विद्युत् व्यापार सुरु भइसकेको, भारतको ग्रिड प्रयोग गरी पहिलोपटक बंगलादेशमा विद्युत् निर्यात गरिएको र यसलाई त्रिपक्षीय ऊर्जा सहकार्यको ऐतिहासिक उपलब्धीको रूपमा लिनुपर्ने बताए।

उनले नवप्रवर्तन, लगानी प्रवर्धन, ऊर्जा व्यापारका लागि क्षेत्रीय संरचना निर्माण तथा आपसी सहकार्यलाई थप मजबुत बनाउनु अपरिहार्य रहेको धारणा राखे।

नेपाल एससीओको संवाद साझेदार राष्ट्रको रूपमा ऊर्जा क्षेत्रमा निरन्तर सहकार्य गर्दै आएको उल्लेख गर्दै मन्त्री खड्काले भने, ‘ऊर्जा क्षेत्र समावेशी, दिगो र सहकार्यमा आधारित हुनुपर्छ, र नेपाल यस यात्रामा अग्रसर छ।’

बैठकमा एससीओ सदस्य राष्ट्रका ऊर्जा मन्त्रीहरू, उच्च प्रतिनिधिहरू तथा प्राविधिक विज्ञहरूको सक्रिय सहभागिता थियो। बैठकले क्षेत्रीय ऊर्जा सहकार्य, प्रविधि, पूर्वाधार तथा व्यापारको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।