सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध ५ वटा उजुरी, संसदीय सुनुवाइ १५ गते

बिजमाण्डू
२०८२ असार १२ गते १२:२२ | Jun 26, 2025
सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध ५ वटा उजुरी, संसदीय सुनुवाइ १५ गते
संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठक

काठमाडौं। सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशको संसदीय सुनुवाइ असार १५ गते हुने भएको छ। संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठकले प्रस्तावित न्यायाधीशको सुनुवाइ १५ गते गर्ने निर्णय गरेको हो।

Tata
GBIME

न्याय परिषद्ले गत जेठ २७ गते वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो।

प्रस्तावित न्यायाधीशविरुद्ध ५ वटा उजुरी परेका छन्। पोखरेल र पौडेलविरुद्ध दुई/दुई वटा तथा थापाविरुद्ध एउटा उजुरी परेको समितिका कर्मचारीले जानकारी दिए। समितिले उजुरीकर्तासँग शुक्रबार छलफल गर्ने भएको छ।

न्याय परिषद्को सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

समितिले न्याय परिषद्का प्रस्तावित सदस्य महेश नेपालको सुनुवाई पनि १५ गते गर्ने भएको छ। उनीविरुद्ध भने उजुरी परेको छैन।

नेपाललाई परिषद्‍को सदस्य नियुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेका हुन्। सिफारिस समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले न्याय परिषद्को सदस्य नियुक्त गर्नेछन्।