
काठमाडौं। सत्तारुढ नेकपा एमालेले सरकारको काम सन्तोषजनक भएको निष्कर्ष निकालेको छ।
सरकारको काम कारबाहीलाई लिएर सत्तारुढ नेपाली कांग्रेस भित्रबाटै चर्को असन्तुष्टि जाहेर भइरहेका बेला एमालेको सचिवालय बैठकले सन्तोषजनक, सफल र प्रभावकारी भएको निष्कर्ष निकालेको हो।
सरकारले स्थिरता कायम गर्दै आफ्नो गन्तव्यमा प्रभावकारिता वृद्धि गर्दै लगेको एमालेको निष्कर्ष छ। एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले सुशासन र सेवा प्रवाहका क्षेत्रमा ध्यान केन्द्रित गरिरहेको बताए।
एमालेको नेतृत्वमा सरकार गठन भएको एक वर्ष भएको छ।
बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाको निलम्बन फुकुवा गरेको छ। ‘पार्टीभित्र राख्नुपर्ने विषय बाहिर राखेकाले निलम्बन भएकोमा अब फुकुवा भएको छ। अब उहाँहरु पार्टीको काममा फर्किन सक्नुहुन्छ,’ ज्ञवालीले भने।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले दान गरेको जग्गामा उनकै लगानीमा पार्टी भवन बनाउने निर्णयको विरोध गरेको भन्दै गत पुस १० को सचिवालय बैठकले पाण्डे र तिमिल्सिनालाई निलम्बन गरेको थियो।