प्रहरी सम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल : राजनीतिक हस्तक्षेप नहुने व्यवस्थामा जोड

बिजमाण्डू
२०८२ असार ११ गते १३:०३ | Jun 25, 2025
प्रहरी सम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल : राजनीतिक हस्तक्षेप नहुने व्यवस्थामा जोड
राज्य व्यवस्था समितिको बैठक

काठमाडौं। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गरेको छ।

Tata
GBIME

समितिले बुधबार गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक दीपक थापा लगायतलाई बोलाएर विधेयकमाथि सैद्धान्तिक छलफल गरेको हो।

बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उपस्थित छन्। समितिका सभापति रामहरि खतिवडाले रक्षामन्त्री मानवीर राईलाई पनि बैठकमा सहभागी गराएका छन्।

छलफलमा क्रममा सांसदहरुले राजनीतिक हस्तक्षेपविना प्रहरीलाई निष्पक्षरुपमा काम गर्न दिने वातावरण बनाउनुपर्नेमा जोड दिए।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रहरीलाई प्रविधिमैत्री बनाइनुपर्नेमा जोड दिए।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले विधे्यकमा प्रहरीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने व्यवस्था गर्नुपर्ने बताइन्।

राज्य व्यवस्था तथा सुशासन समिति बैठक

‘प्रहरी परिचालनको सम्पूर्ण अधिकार प्रहरी प्रमुखमा हुनुपर्छ। राजनीतिक हस्तक्षेप नहुने सुनिश्चित गरौं। प्रहरी महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रधानमन्त्रीले लगाइदिने व्यवस्था गरौं,’ उनले भनिन्। महानिरीक्षकलाई अहिले गृहसचिवले दर्ज्यानी चिह्न लगाइदिने व्यवस्था छ।

राप्रपाका सांसद एवं पूर्वप्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानले प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिए। ‘प्रहरीलाई निष्पक्ष रहने वातावरण बनाउन सकिएन भने केही अर्थ हुँदैन। आदेश दिएर मात्र गर्ने भएपछि उसले काम नै गर्दैन। प्रहरीमा सरकारको लगानी कस्तो छ भन्ने पनि हेरौं,’ उनले भने।

जसपाका सांसद अशोक राईले प्रहरीलाई साधनस्रोत कम रहेको बताए।