
काठमाडौं । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको अठारौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को अनुमानित आयव्यय बजेट प्रस्तुत गरेकी छन्।
भक्तपुर नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै नगरपालिकाको जग्गा बिक्रीसमेत गरि आर्थिक वर्ष २०८२।८३ को लागि २ अर्ब ४७ करोड ३१ लाख ११ हजारको बजेट प्रस्तुत भएको छ।
विनियोजित बजेटको चालू खर्चतर्फ १ अर्ब ५२ करोड ५३ लाख ११ हजार रुपैयाँ अर्थात् ६१.६७ प्रतिशत र पुँजीगत खर्चतर्फ ८० करोड ४८ लाख रुपैयाँ अर्थात् ३२.५४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १४ करोड ३० लाख अर्थात् ५.७८ प्रतिशत विनियोजन गरेको छ।
बजेट वक्तव्यमा नगरवासी जनताहरुको भावनाबमोजिम विभिन्न शैक्षिक विकास र शिक्षा क्षेत्रका लागि ५४ करोड ४ लाख ६३ हजार रुपैयाँ अर्थात कुल बजेटको २१.८५ प्रतिशत बजेट विनियोजन गरेको छ।
ख्वप अस्पताललाई आधुनिक सुविधा सम्पन्न बनाउन र अस्पतालको स्तरीकरण समेतका लागि ५ करोड बजेटको व्यवस्था गरेको छ। खँचापुखु स्वास्थ्य चौकी निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने गरि ७५ लाख बजेट विनियोजन भएको छ।स्वास्थ्य क्षेत्रका लागि भक्तपुर नपाले आगामी आर्थिक वर्षमा १० करोड ३७ लाख ५० हजार विनियोजन गरेको छ।
भक्तपुरमा रहेको मूर्त र अमूर्त सम्पदाहरुको संरक्षणलाई निरन्तरता दिंदै ऐतिहासिक र धार्मिक महत्व बोकेका विभिन्न स्थानका घाटहरु सुधारका लागि गुरुयोजना बनाई अगाडि बढाउन ३७ लाख ५० हजार विनियोजन गरिएको छ। थन्थु दरबार पुनःनिर्माणको लागि रु. ३ करोड र लायकु पाहाँ छेँको लागि रु. ८५ लाख र भनपा ४ स्थित इखालाछी मठ पुनःनिर्मँणलाई रु. १ करोड ६० लाख बजेट विनियोजन भएको छ।
साथै, इन्द्रायणी द्योछेँ पुनःनिर्माण कार्य आगामी आ.व. सम्ममा सम्पन्न गर्ने गरि ३० लाख बजेट विनियोजन भएको छ। सिद्धपोखरी पेटी पुनःनिर्माणको लागि १ करोड, दहि विनायक द्योछेँ पुनःनिर्माणको लागि ५० लाख र इशानेश्वर मन्दिर निर्माणको लागि ३० लाख, रात्रीकालिन बत्ती व्यवस्थाको लागि १ करोड बजेट विनियोजन गरेको छ। सम्पदा पुनःनिर्माण तथा संस्कृति संरक्षणमा आगामी आर्थिक वर्षका लागि १२ करोड ६८ लाख ५० हजार विनियोजन गरिएको छ।
कृषि क्षेत्रअन्तर्गत नगरको उपयुक्त स्थानमा आधुनिक पशु वधशाला निर्माणको लागि २५ लाख, शीत भण्डार गृह निर्माण सञ्चालनको लागि १ करोड र तरकारी बजार निर्माण सम्पन्न गरि संचालनमा ल्याउन ३० लाख बजेट विनियोजन गरेको छ।
नगरभरका नागरिकहरुलाई पानी घर घरमा पुर्याइ खानेपानीको समस्या समाधान गर्न ५० लाख बजेट विनियोजन गरिएको छ। वातावरण तथा सरसफाइका लागि २० करोड २२ लाख , पर्यटन प्रवर्धनमा ४ करोड ९० लाख विनियोजन भएको छ।
अरनिको सभाभवन निर्माण निरन्तरताको लागि १४ करोड ९० लाख, देको मिवा इतापाके जग्गा एकीकरणको लागि ४ करोड, भार्वाचोमा बहुउद्देशयीय भवन निर्माणको लागि १ करोड २५ लाख, पार्किङ स्थलको व्यवस्थातर्फ ६० लाख बजेट विनियोजन भएको छ।
यस्तै, खेलकुद अन्तर्गत खेलकुदको नियमित प्रशिक्षणको लागि १ करोड, पौडी प्रशिक्षण केन्द्रको लागि ५० लाख, शहिद स्मृति खेलमैदान निर्माणको लागि १ करोड, माहेश्वरी खेलमैदानलाई २ करोड बजेट विनियोजन गरेको छ।
सीपमूलक तालिमको लागि २५ लाख बजेट विनियोजन गरिएको छ भने क्यान्सर, मुटुरोग, मस्तिष्कघात, स्पाइनल कर्ड इन्जुरी जस्ता दीर्घ रोग लागेका विरामीहरुलाई नगरपालिकाबाट दिंदै आएको १५ हजार आर्थिक सहयोगलाई निरन्तरता दिन आवश्यक बजेटको व्यवस्था गरेको छ।
विविध योजना तथा कार्यक्रमतर्फ ९ करोड १४ लाख रुपैयाँ विनियोजन गरेको छ।
पढ्नुस भक्तपुर नगरपालिकाको बजेट