
काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्बाहीमा पर्नेमा दुई कम्पनी काठमाडौंका छन् भने धादिङ, नुवाकोट र रोल्पाका एक/एक कम्पनी छन्।
सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक योजनाको ठेक्कामा सम्झौताअनुसार काम नगर्ने बीटी जयबाबा जेभी एक वर्षका लागि कालोसूचीमा परेको छ। उक्त जेभीमा काठमाडौंको बीटी निर्माण सेवा र धआदिङको जय बाबा गोरख कन्स्ट्रक्सन छ। कार्बाहीका लागि सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक योजना सन्धिखर्कले सिफारिस गरेको शनिबार प्रकाशित सूचनामा छ।
यस्तै नुवाकोटको ए एण्ड डी कन्स्ट्रक्सन प्रालि एक वर्षका लागि कार्बाहीमा परेको छ। उक्त कम्पनीलाई कार्बाहीका लागि नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले सार्वजनिक खरिद अनुगमन कार्यालयमा लेखिपठाएको हो। यसैगरि काटमाडौं महानगरपालिकाको ९ नम्बर वडा कार्यालयको सिफारिसमा बौद्धको सुनुवार कन्स्ट्रक्सन डेढ वर्षका लागि कार्बाहीमा परेको छ।
सडक पूर्वाधार कार्यालय रोल्पाको सिफारिसमा सोही जिल्लाको बिन्टु निर्माण सेवा एक वर्षका लागि कालोसूचीमा परेको छ। कालोसूचीमा परेका कम्पनीहरुले कार्बाही अवधिभर सार्वजनिक खरिदका क्रियाकलापमा भाग लिन पाउँदैनन्।