
काठमाडौं। भौतिक पूर्वाधार तथा पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मनसुन सक्रिय हुन थालेकाले यातायात आवागमनलाई सुरक्षित बनाउन निर्देशन दिएका छन्।
मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक डा. विजय जैशीलगायतका अधिकारीलाई मन्त्री दाहालले जोखिमयुक्त क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन निर्देशन दिए।
‘सकेसम्म यातायात अवरुद्ध हुन नदिने व्यवस्था मिलाउँ’ मन्त्री दाहालले भने, ‘जोखिम रहेका क्षेत्रहरूमा यन्त्र, उपकरण र आवश्यकता अनुसारको जनशक्ति तैनाथ गरेर राख्नुपर्यो।’
प्रहरी, प्रशासन तथा सुरक्षाका अन्य निकायहरूसँग समेत दर्बिलो समन्वय गरी सडक तथा यातायात क्षेत्रलाई नियमित, चुस्त र सुरक्षित बनाउन उनको निर्देशन छ।
बढी जोखिम रहेका स्थानहरूमा ट्राफिक प्रहरीसँग समन्वय गरी सुरक्षित रूपमा सवारीसाधन आवागमनको व्यवस्था मिलाउन दाहालले निर्देशन दिएका हुन्।
मन्त्रालयका सचिव शर्माका अनुसार जोखिम स्थानहरूमा सडक विभागमार्फत आवश्यक उपकरण परिचालन गरिएको छ।
सडक विभागका महानिर्देशक जैशीले बीपी राजमार्ग, अरनिको राजमार्ग, पृथ्वी राजपथ, निर्माणाधीन दाउन्ने खण्डलगायतका स्थानहरूमा विशेष सतर्कतासहित औजार, उपकरण र जनशक्ति परिचालन गरिएको बताए।
काठमाडौं उपत्यकाभित्रका पानी जम्ने स्थानहरूको सरसफाइ गरिएको, राजमार्ग र करिडोरहरुमा समेत सतर्कताका साथ उपकरण तयारी अवस्थामा राखिएको उनले बताए।