दिगो भविष्यका लागि वातावरणीय, सामाजिक र सुशासन अपरिहार्य : एफएनसीसीआई अध्यक्ष ढकाल

बिजमाण्डू
२०८२ असार ६ गते १८:३८ | Jun 20, 2025
दिगो भविष्यका लागि वातावरणीय, सामाजिक र सुशासन अपरिहार्य : एफएनसीसीआई अध्यक्ष ढकाल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्र प्रसाद ढकालले दिगो भविष्यका लागि वातावरणीय, सामाजिक र सुशासन (ईएसजी) अपरिहार्य भएको बताएका छन्। महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यशालामा अध्यक्ष ढकालले उक्त धारणा राखेका हुन्।

Tata
GBIME

अध्यक्ष ढकालले ईएसजी अब ट्रेन्डमात्र नभई व्यवसायको दिगो भविष्यतर्फको अनिवार्य बाटो भएको बताए। उनले नेपालजस्ता उदीयमान अर्थतन्त्रका लागि यो नयाँ अवसरको ढोका खोल्ने माध्यम भएको समेत धारणा राखे।

‘वर्तमान समयमा ईएसजी मापदण्डप्रतिको सचेतना महत्त्वपूर्ण बन्दै गएको छ। ईएसजी जोखिम व्यवस्थापनका लागि अपरिहार्य छ। नेपालमा सुरु भएको यो परियोजनाले नेपाली व्यवसायहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार पार्न सहयोग पुर्‍याउनेछ,’ उनले भने।

महासंघले हालसम्म छुट्टाछुट्टै ढंगले वातावरणीय स्थायित्व, सामाजिक पहल तथा सुशासनको क्षेत्रमा काम गरिरहेको भए पनि अब यो ढाँचामार्फत ती सबै पहलहरूलाई एकीकृत गर्ने दिशामा अगाडि बढ्ने योजना बनाएको अध्यक्ष ढकालले जानकारी दिए।

नेपाल राष्ट्र बैंकले अपनाएको पर्यावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन निर्देशिकालाई पनि महासंघले सकारात्मक रूपमा लिएको अध्यक्ष ढकालले उल्लेख गरे। उनले ३० भन्दा बढी कानुनमा सरकारले गरेको संशोधनले स्वदेशी तथा विदेशी लगानी प्रवर्धन हुने अपेक्षा गरिएको बताए।

कार्यशालामा सहभागीलाई सर्वेक्षणमार्फत ईएसजीसम्बन्धी आवश्यक तालिम र क्षमता विकासका कार्यक्रमहरू पहिचान गरिने जानकारी दिइएको थियो। महासंघले यसलगत्तै कोशी प्रदेशमा पनि ईएसजी कार्यशाला आयोजना गरेको छ।

सरोकारवालाहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, नीति निर्माताहरू तथा अन्तर्राष्ट्रिय साझेदारहरूको सहभागिता रहेको कार्यशालामा वातावरण, समाज र सुशासनसम्बन्धी विषयहरूलाई समग्र रूपमा एकीकृत गर्नुपर्नेमा जोड दिइएको थियो।