
काठमाडौं। आगामी आर्थिक वर्षको बजेटमाथि मन्त्रालयगत छलफलमा पहिलो दिन २१ सांसदले आफ्नो धारणा राखेका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा तीन मन्त्रालयको बजेटमाथि खर्च कटौतीको प्रस्ताव राखेका ६ जनासहित जम्मा २१ सांसदले आफ्नो धारणा राखेका हुन्।
करिब ४ घण्टा २१ सांसदले बोलेपछि सभामुख देवराज घिमिरेले वन तथा वातावरण, कृषि तथा पशुपन्छी विकास र कानुन मन्त्रालयको बजेटमाथिको छलफल सकिएको बताए। उनका अनुसार शुक्रबार अरु मन्त्रालयको बजेटमाथि छलफल हुनेछ।
बजेटमाथिको छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले वेल घेराउ गरे। उनीहरुले अघिल्ला दिनमा जस्तो नाराबाजी गरेनन्। उनीहरु बैठक अवधिभर वेलमा पलेटी कसेर बसे।
कुनै समय वेल घेराउमा बस्ने रास्वपाका सांसदभन्दा बजेटमाथिको छलफलमा सहभागी सांसदको संख्या कम देखिएको थियो। रास्वपाकी सांसद सोविता गौतमले ‘आजबाट रातो किताबमाथि छलफल चलिरहेको छ। तर, आज सदनभित्र कुर्सीमा बस्ने सासंदहरु १५ जना मात्र हुनुहुन्छ भने आन्दोलनरत भुईँमा बसेका हामी १७ जना छौं’ भनी फेसबुकमा लेखेकी छन्।
छलफलमा भाग लिएका सत्तारुढ दलकै सांसदले कृषिलाई सरकारले उपेक्षा गरेको आरोप लगाए।नेपाली कांग्रेसका देवप्रसाद तिमिल्सिना, एमाले सांसद किरणकुमार साह लगायतले बजेटले कृषिलाई उपेक्षा गरेको बताए।
उनीहरुले कृषि अनुदान वृद्धि गरी कृषि उत्पादन बढाउन तथा कृषिको आधुनिकीकरण, पशुपालनको व्यवसायीकरण र पशुपक्षीको उपचार वडास्तरमा व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।