
काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटले नयाँ सपना नदेखेको बताएका छन्।
बजेटको सैद्धान्तिक छलफलका क्रममा राष्ट्रिय सभाका सदस्यहरुले उठाएका प्रश्नको बिहीबार जवाफ दिंदै अर्थमन्त्री पौडेलले सरकार यसपटक सपना पूरा गर्नमा केन्द्रित भएको बताए।
‘बजेट यथार्थपरक छ। कार्यान्वयन गर्न सकिने खालको छ। नयाँ कार्यक्रमभन्दा पनि विगतका योजना कार्यान्यनमा यसपटक मेरो ध्यान रह्यो। हामी भन्छौं मात्रै होइन गर्छौं पनि भन्ने सन्देश दिन बजेटमा नयाँ कार्यक्रम नराखिएको हो,’ उनले भने।
स्रोतको अनुमान यसपटक यथार्थपरक रहेको मन्त्री पौडेलको दाबी छ। ‘चालु आवको संशोधित राजस्वभन्दा आगामी आवको राजस्व लक्ष्यको अनुमान १६ प्रतिशत मात्रै बढी छ। यो पूरा हुन्छ। यसपटक विगतको जस्तो असाध्यै ठूलो लक्ष्य तय गरेको छैन,’ उनले भने।
आगामी आवमा वैदेशिक सहयोग पनि लक्ष्यअनुसार पूरा हुने उनको दाबी छ। उनले सम्झौता भएका र प्रतिवद्धता आएका अंक मात्रै राखिएकाले पूरा हुनेमा आशंका नगर्न आग्रह गरे।
बजेटमार्फत उत्पादन, उत्पादकत्व र रोजगारी बढाउने नीति लिएको उनले बताए। ‘बजेटले मुलुकलाई सुशासन र रुपान्तरणको पक्षमा डोर्याएको छ,’ उनले भने।