
काठमाडौं। बाढी र पहिरोका कारण देशका विभिन्न ६ स्थानमा बिहीबार पनि सडक अवरुद्ध भएको छ।
प्रहरी प्रधान कार्यालका अनुसार अन्य ४ ठाउँमा अवरुद्ध भएको सडक भने एकतर्फी खुलाइएको छ। प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले एकतर्फी खुलेका सडकलाई दुइतर्फी बनाउने र अवरुद्ध रहेका सडकलाई खुलाउने प्रयास जारी रहेको बताए।
उनका अनुसार अहिले सिन्धुपाल्चोकको भोटेकोशीमा पहिरोका कारण अरनिको राजमार्ग ३ ठाउँमा अवरुद्ध भएको छ। भोटेकोशी गाउँपालिकाको कोदारी, लार्चा र कोप्लाङमा पहिरो खसेर सडक अवरुद्ध भएको हो।
यस्तै, नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका-१ मा बाढीले महेन्द्र राजमार्ग अवरुद्ध बनाएको छ। सो क्षेत्रमा अहिले गाडीको लामो लाइन छ। यात्रुहरू अलपत्र परेका छन्।
यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्सेमा पहिरो खसेर बेनी-जोमसोम सडक अवरुद्ध पारेको छ। यता डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ छलघाटमा बाढीका कारण भेरी करिडोर पनि पूर्ण रुपमा अवरुद्ध रहेको र खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
यी अवरुद्ध सडकलाई एकतर्फी खुलाइयो
धनकुटाको साँगुरीगढी गाउँपालिका-५ को रवि-राके-भेटेटार सडक एकतर्फी खुलाइएको छ।
यस्तै, काभ्रेको धुलिखेल नगरपालिका-११ बाँझोखेतमा बाढीले अवरुद्ध पारेको विपी राजमार्ग पनि एकतर्फी खुलाइएको छ।
यस्तै, चितवनको इच्छाकामना गाउँपालिकाको पाँच तुइन खोला र नाम्सी पुलमा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक पनि एकतर्फ खुलाइएको छ।
गुल्मीको कालीगण्डकी गाउँपालिका-६ बर्लबामा पहिरो खस्दा अवरुद्ध भएको कालिगण्डकी करिडोर एकतर्फी खुलाइएको छ।
जुम्लाको सिंजा गाउँपालिका-२ चुलेल गाउँमा पहिरोले अवरुद्ध जुम्ला–मुगु सडक एकतर्फी खुलाइएको प्रहरीले जानकारी दिएको छ। रासस