काठमाडौं-तराई द्रुतमार्गको प्रस्थान विन्दु डुकुछाप गर्न सुझाव, खोकना हुँदा विस्थापन जोखिम

बिजमाण्डू
२०८२ असार ४ गते १६:४१ | Jun 18, 2025
काठमाडौं-तराई द्रुतमार्गको प्रस्थान विन्दु डुकुछाप गर्न सुझाव, खोकना हुँदा विस्थापन जोखिम

काठमाडौं। काठमाडौं-तराई मधेस द्रुतमार्ग सडक आयोजनाको सुरु विन्दुुलाई ललितपुरको गोदावरी नगरपालिका–८ स्थित डुुकुछापमा स्थानान्तरण गर्न आदिवासी जनजाति आयोगले सरकारलाई सुझाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उक्त सुझावसहितको अध्ययन प्रतिवेदन आयोगले बुधबार हस्तान्तरण गरेको हो।

Tata
GBIME

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका हुन्। प्रतिवेदनमा उक्त आयोजनाको हालको प्रवेश विन्दु ललितपुर महानगरपालिका-२१ को खोकनाको फुडोलमा कायम हुँदा आदिवासी नेवार समुदायको विस्थापनको जोखिमसँगै स्थानीयवासीको मानवअधिकारको उल्लंघन हुने उल्लेख छ।

वाग्मती नदी सफाइ सुधार आयोजनाको कार्यान्वयनबारे संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय अन्तर्गतको कार्य समूह र विशेष र्‍यापोर्टरबाट व्यक्त चासोका सम्बन्धमा नेपाल सरकारले पठाउनुपर्ने जवाफमा सघाउन आयोगले उक्त सुझाव प्रतिवेदनमार्फत दिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मानवअधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखाले आयोगलाई सुझाव प्रतिवेदन दिन आग्रह गरेको थियो। प्रतिवेदनमा खोकना क्षेत्र नेवार समुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेकाले डुकुछापमा स्थानान्तरण गर्न उपयुक्त हुने उल्लेख छ। साथै नेपाल सरकारले यस्ता आयोजना सञ्चालन गर्दा स्थानीय आदिवासी जनजाति समुदायसँग पूर्व सहमति लिन सुझाव दिइएको छ।

सरकारले नेपाली सेनालाई निर्माण जिम्मा दिएको द्रुतमार्ग आयोजनाले प्रस्थानविन्दुमा विरोधका कारण काम गर्न सकेको छैन।