
काठमाडौं। निक्षेप तथा कर्जा सुरक्षण कोषले ९४ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। कोषले सूचना जारी गर्दै ‘क’ वर्गको वाणिज्य बैंकहरुलाई बोलपत्र पेस गर्न भनेको छ।
वाणिज्य बैंकहरुलाई मुद्दती निक्षेपमा दिने ब्याज दरसमेत उल्लेख गरेर बोलपत्र बुझाउन कोषले आह्वान गरेको हो। इच्छुक बैंकले असार ५ गतेभित्र मुद्दती निक्षेप स्वीकार्नुपर्ने बोलपत्र पेस गरिसक्नु पर्नेछ।
थप जानकारीका लागि कोषको वेबसाइटमार्फत विस्तृत विवरण प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ। कोष निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ अन्तर्गत नेपाल सरकारको ९० प्रतिशत र नेपाल राष्ट्र बैंकको १० प्रतिशत सेयर स्वामित्वमा स्थापित सार्वजनिक संस्थान हो।
बैंक तथा वित्तीय संस्थामा सर्वसाधारण जनताले निक्षेपको रुपमा जम्मा गरेको बचत रकम कुनै कारणवशः सो संस्थाले फिर्ता गर्न नसकेमा तोकिएको हदसम्मको निक्षेप रकम सर्वसाधारणलाई फिर्ता गर्ने निक्षेप सुरक्षण कार्यक्रम र तोकिएको क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कर्जा ऋणीबाट असुल उपर हुन नसकेमा बैंक वित्तीय संस्थालाई क्षतिपूर्ति दिने कर्जा सुरक्षण कार्यक्रम सञ्चालन गर्ने यो कोषको प्रमुख जिम्मेवारी छ।
यसका साथै बैंक तथा वित्तीय संस्थाको कर्जा रकमबाट खरिद भएका पशुधनको सुरक्षण गर्ने कार्य समेत कोषले गर्दै आएको छ।