
काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले पूर्वअर्थमन्त्री वर्षमान पुनलाई अग्रिम आयकर करको सिद्धान्तसँग मेल नखाने भएकाले आफूले खारेज गरेको जवाफ दिएका छन्।
उनले बजेटको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नमा सोमबार प्रतिनिधि सभाको बैठकमा जवाफ दिने क्रममा वर्षमानको नामै लिएर यसअघि गरिएको गलत अभ्यासलाई आफूले सच्याएको बताए।
‘एकजना पूर्वअर्थमन्त्रीजीले अग्रिम आयकरको बारेमा बडो सगौरव आफूले राम्रो गरेको र प्रस्तुत बजेटले अग्रिम आयकर हटाएर गलत गरेको निष्कर्ष सुनाउनुभयो। म स्पस्ट गर्न चाहन्छु अग्रिम आयकर भनेको करको सिद्धान्तसँग मेल नखाने गलत कुरा हो। आयकर आम्दानीमा लाग्ने कर हो,’ उनले भने, ‘कारोबार गर्नुअगाडि नै यति आम्दानी गर्छौ भनेर अग्रिम रुपमा आयकर लिने कुरा करको सिद्धान्तसँग मेल खाँदैन। यो गलत अभ्यासलाई प्रस्तुत बजेटले सच्याएको छ। यसलाई खारेज गरेर मैले राम्रो गरेको छु।’
वर्षमानले आइतबार स्वदेशी वस्तुलाई संरक्षण गर्न आफूले अग्रिम आयकर लगाएको भन्दै यसपालि हटाइनुमा बिचौलियाले चलखेल गरेको हुनसक्ने आशंका व्यक्त गरेका थिए।