
काठमाडौं। पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अर्थमन्त्री विष्णु पौडेलमाथि कुनै मिहेनत नगरी कर्मचारीमा भर परेर कमजोर बजेट ल्याएको आरोप लगाएका छन्।
उनले आइतबार प्रतिनिधि सभामा बजेटमाथि सैद्धान्तिक छलफलमा धारणा राख्ने क्रममा कर्मचारीमाथि भर पर्दा बजेट प्राथमिकताविहीन र छरिएको खालको हुन पुगेको बताए।
‘यो बलियो सरकारको कमजोर बजेट हो। फोकस छैन। अर्थमन्त्रीको कुनै मिहेनत देखिएन। दुई ठूला दलले गर्नुपर्ने मिहेनत देखिएन। छरिएको छ। प्रशासनले राजस्व छैन, स्रोत छैन, सबै लथालिंग छ भनेपछि नियमित तरिकाले बनाउने खालको बजेट आएको छ,’ उनले भने, ‘प्राथमिकताका क्षेत्र के हो? स्पष्ट छैन।’
उनले अर्थतन्त्र विस्तारै लगयमा आएको अवस्थामा अर्थमन्त्री पौडेल आर्थिक वृद्धि र देशलाई ग्रे लिस्टबाट बाहिर ल्याउने कार्यक्रम ल्याउन चुकेको बताए।
‘गत वर्ष ३.८ प्रतिशत आर्थिक वृद्धि भयो। यो वर्ष ४ प्रतिशत छ। अर्थतन्त्र विस्तारै लयमा आएको छ। पछिल्लो चार दशकलाई हेर्ने हो भने हाम्रो साढे ४ प्रतिशत एभरेज ग्रोथ देखिन्छ,’ उनले भने, ‘१४/१५ खर्ब रेमिटेन्स आउँछ। यसले स्वत: ३ प्रतिशतभन्दा बढि आर्थिक वृद्धि हुन्छ। मौसम अनुकूल भयो भने कृषिमा ३/४ प्रतिशत वृद्धि हुन्छ। १०/१२ लाख पर्यटक आउँछन्। प्रशासनले सामान्य काम गर्दा पनि साढे ४ प्रतिशत आर्थिक वृद्धि हुन्छ। तर, अर्थमन्त्रीले आर्थिक वृद्धिका कार्यक्रम ल्याउन कुनै मिहेनत गर्नुभएन।’
पुनले अहिले वार्षिक २० खर्ब रुपैयाँ राजस्व उठाउन सकिने दाबी गर्दै अर्थमन्त्रीले चुहावट रोकथामका कार्यक्रम नै नल्याएको बताए। ‘झण्डै २० खर्ब राजस्व उठ्नुपर्ने हो। तर, धेरै ठाउँमा चुहावट छ। बजारमा अहिले पनि भ्याट बिल काटिंदैन। बजारमा र भन्सार विन्दुमा चुहावट रोक्ने योजना देखिंदैन,’ उनले भने।
उनले बजेटमा राजनीतिक इमान्दारिता नरहेको बताए। ‘बजेटमा राजनीतिक इमान्दारिता भएन। तीन करोडभन्दा कमका योजना नराख्ने भने पनि चलाखी गरिएको छ। एउटा शीर्षकमा तीन करोड राखेर त्यस मातहत विभिन्न योजना राखिएका छन्। एक हजार, १० हजारका योजना प्रशस्त छन्,’ उनले भने।
पूर्वअर्थमन्त्री पुनले तरकारी र फलफूल आयातमा अग्रिम आयकर हटाइएकामा विरोध गर्दै यसमा चलखेलको आशंका व्यक्त गरे।
‘मभन्दा अगाडिको अर्थमन्त्रीले भ्याट लगाउनुभयो। मैले त्यसलाई हटाएर अग्रिम आयकर लगाएँ तरकारी र फलफूलमा। यसले आन्तरिक उत्पादन प्रतिस्पर्धी भयो। यो वर्ष जुम्लाबाट मात्र ९२ करोडको स्याउ निकासी भयो,’ उनले भने, ‘सबै दलले कृषिलाई संरक्षण गर्ने भनिरहँदा अग्रिम आयकर किन हटाइयो? यसमा केही चलखेल छ कि? कुनै स्वार्थ समूहको दबाब भयो कि? अर्थमन्त्रीको ध्यान पुगेन कि?,’ उनले भने, ‘यसमा गल्ती भएको छ। सच्याउनु पर्छ।’