सेयर बजार कारोबार तीन महिना यताकै उच्च, होटल समूहमा उछाल, १३ अर्ब १८ करोडको किनबेच

बिजमाण्डू
२०८२ असार २ गते १५:४२ | Jun 16, 2025
सेयर बजार कारोबार तीन महिना यताकै उच्च, होटल समूहमा उछाल, १३ अर्ब १८ करोडको किनबेच

काठमाडौं। साताको दोस्रो दिन सेयर बजार कारोबार तीन महिनायताकै उच्च भएको छ। २.८० अंकले बढेर नेप्से परिसूचक सोमबार २६५८.६६ विन्दुमा पुगेको छ।

Tata
GBIME

कारोबारमा आएका फाइनान्स, हाइड्रोपावर, इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन र अन्य बाहेकका उपसमूहले बजार बढाएका हुन्।

होटल तथा पर्यटन समूहको सूचक सर्वाधिक ४.६९ प्रतिशतले बढेको छ। १२४ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ताले कमाएका छन्। पियोर इनर्जी र पिपुल्स पावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर ८.३७ प्रतिशतले बढेको छ।

१२४ कम्पनीको सेयरमूल्य घट्दा भने तिनका लगानीकर्तालाई नोक्सान भएको छन्। अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ७.५८ प्रतिशतले घटेको छ।

बजारमा १३ अर्ब १८ करोड ६९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। सोमबारको कारोबार तीन महिनायताकै सर्वाधिक हो। लगानीकर्ता किनबेचमा सक्रिय भएको देखिएको छ। यसअघि फागुन १९ गते १४ अर्ब २८ करोड रुपैयाँको कारोबार भएको थियो।

सानिमा माई हाइड्रोपावरको सर्वाधिक ९५ करोड १६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, ङादी ग्रुप पावरको ९० करोड ३१ लाख र बुटवल पावर कम्पनीको ५८ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ। सिंगटी हाइड्रोको ५७ करोड ७४ लाखको सेयर किनबेच भएको छ।

यसअघि आइतबार नेप्से परिसूचक ०.४७ को सामान्य अंकले बढेर २६५५.८५ विन्दुमा पुग्दा ११ अर्ब ४४ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको थियो। आइतबार पनि सर्वाधिक कारोबार हुने कम्पनीमा सानिमा माई हाइड्रोपावर पहिलो नम्बरमा थियो। उक्त कम्पनीको ८९ करोड १ लाख रुपैयाँको सेयर किनबेच भएको थियो।