
काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अर्थमन्त्री विष्णु पौडेललाई दुई महिनापछि हुने अटो शोको निम्ता दिएको छ।
नाडाका पदाधिकारीले अर्थ मन्त्रालय पुगेर मन्त्री पौडेललाई अटो शोमा प्रमुख अतिथिका रुपमा सहभागी हुन निम्ता दिएका हुन्। नाडा अटो शोको १७औं संस्करण आगामी भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा गर्ने तय भएको छ।
अर्थमन्त्रीलाई निम्ता दिने क्रममा नाडाका अध्यक्ष करण चौधरीले लामो समयको अन्तरालपछि अटोमोबाइल क्षेत्र लगायत समग्र निजी क्षेत्रमैत्री बजेट आएको बताए।
नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमा पहिलोपटक सिमरामा सवारीसाधन मेनुफेक्चरिङ उद्योग खोल्ने तयारी भइरहेको भन्दै त्यस्ता उद्योगलाई थप सुविधा उपलब्ध गराउन र नीतिमा स्थिरता कायम गर्न आग्रह गरे।
अर्थमन्त्रीलाई निम्ता दिन नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल र सचिव सुरेन्द्र प्रधान अर्थ मन्त्रालय पुगेका थिए।