ट्रेड टावरको आइपीओ बाँडफाँड, ३ लाख २९ हजार जनाले पाए १०/१० कित्ता सेयर

बिजमाण्डू
२०८२ असार १ गते १०:३२ | Jun 15, 2025
ट्रेड टावरको आइपीओ बाँडफाँड, ३ लाख २९ हजार जनाले पाए १०/१० कित्ता सेयर

काठमाडौं। ट्रेड टावरको आइपीओ बाँडफाँड भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले आइतबार बाँडफाँड गर‍ेको हो।

Tata
GBIME

ट्रेड टावरको आइपीओ ३ लाख २९ हजार ६५० आवेदकले १० कित्ताका दरले पाएका छन्। कम्पनीले गत जेठ १४ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँ बराबरको ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर निष्कासन गरेको थियो।

आइपीओमा कुल २० लाख ७४ हजार २८५ आवेदकबाट २ करोड ४१ लाख १७ हजार ४८० कित्ता सेयरका लागि आवेदन परेकामा २० लाख ५९ हजार ३८८ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ।

लगानीकर्ताले ‘मेरो सेयर’, सीडीएससीको वेबसाइटबाट आइपीओको नतिजा हेर्न सक्छन्। ट्रेड टावरले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको कुल ४८.६९ प्रतिशतले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँको ३९ लाख ७१ हजार ६९३ कित्ता आइपीओ निष्कासन गरेको थियो।

यसअघि वैदेशिक रोजगारीमा गएका श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीका लागि वितरण गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि बाँडफाँड गरेको हो।

कुल निष्कासनमध्ये ३ लाख ९७ हजार १६९.३० कित्ता वैदेशिक रोजगारीमा गएकाहरुलाई वितरण गरेको थियो। यो वर्ष पुससम्म ५ करोड ६० लाख रुपैयाँ सञ्चित नाफामा रहेको विवरण कम्पनीले पेस गरेको छ। यस अवधिमा प्रति सेयर आम्दानी १.८८ रुपैयाँ र प्रति सेयर नेटवर्थ ११३.३९ रुपैयाँ छ।

कम्पनीलाई इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ ‘डबल बी माइनस’ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

कम्पनीले आइपीओ निष्कासनको अनुमति माग्दै २०७९ असारमा सेबोनमा आवेदन दिएकामा गत चैत २५ गते स्वीकृति पाएको थियो।