
काठमाडौं। नेपाली बजारमा टेल्जीका २ नयाँ विद्युतीय स्कुटर भित्रिएको छ। टेल्जी स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता योम मा ई मोटर्स प्रालिले अपडेटसहितको टेल्जी टाइगर प्लस र नयाँ कार्गो स्कुटर भित्र्याएको हो।
टेल्जी नेपालले अपडेटसहित ल्याएको टाइगर प्लस पुरानै मूल्यमा ल्याएको छ। कम्पनीले टाइगर प्लसको मूल्य २ लाख २७ हजार, कार्गो स्कुटर ट्याङ्क जेडएसको मूल्य २ लाख २७ हजार र ट्याङ्क केएसको मूल्य २ लाख १७ हजार रुपैयाँ तोकेर बिक्री सुरु गरेको छ।
टाइगर प्लसमा कम्पनीले इन्टेलिजेन्ट चार्जिङ फिचर थप गरेको छ। यसको मद्यतले यो स्कुटर ३ घन्टामा फुल चार्ज हुन्छ। यसमा कम्पनीले रिभर्स गियर समेत थप गरेर ल्याएको छ।
उक्त स्कुटर सार्वजनिक कार्यक्रममा टेल्जी नेपालका निर्देशक संजिव शिल्पकारले सबैभन्दा लोकप्रिय मोडल टाइगरको गुणस्तर वृद्धि गर्दै नयाँ मोडल ल्याएको बताए।
उनले भने, ‘टेल्जी टाइगर एकदमै रुचाइएको स्कुटरमा हामीले ग्राहकको सुझाव अनुसार नै अपग्रेड गरेर ल्याएको छौं, आगामी दिनमा हामी अझै यसको गुणस्तर वृद्धिको काम गर्दै जानेछौँ।’
नेपाली ग्राहक अब पहिला जस्तो नभएर क्वालिटीलाई ध्यान दिने भएको कम्पनीका अध्यक्ष राजेश राजकर्णिकारले बताए।
‘नेपाली बजारमा विद्युतीय स्कुटरमा धेरै नै प्रतिस्पर्धा छ। अब ग्राहकले स्कुटरको गुणस्तर, सर्भिस हेरेर मात्रै किन्ने अवस्था आएको छ। यस्तोमा हामीले हाम्रो सबैभन्दा उत्कृष्ट स्कुटरलाई अझै परिस्कृत गरेर ल्याएका छौँ,’ उनले भने।
कम्पनीले ल्याएको नयाँ स्कुटर टाइगर प्लसमा ३ किलोवाट रेटेड पावरको मोटर उपलब्ध छ। यो स्कुटरको टप स्पिड ७५ किलोमिटर प्रतिघण्टाको छ भने यो स्कुटरको १६ डिग्री क्लाइम्ब क्षमता छ।
यसमा कम्पनीले ७२ भोल्ट ३८ एम्पियर अवारको ग्राफिन ब्याट्री दिइएको छ। यो स्कुटरलाई एकपटक फुल चार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ। यसलाई ३ घण्टामा फुलचार्ज गर्न सकिन्छ। यसमा मेन्टिनेन्स चार्जिङ सिस्टम उपलब्ध छ।
यो स्कुटरको अगाडि र पछाडि दुवैतर्फ डिस्क ब्रेकका साथै, फुल डिजिटल कन्सोल, स्मार्ट की, अन्डर सिट स्टोरेज जस्ता फिचर छन्।
त्यस्तै, कार्गो स्कुटर ट्याङ्कमा पनि टाइगर प्लसमा जस्तै ३ किलोवाट पावर रेटेड मोटर र ३८ भोल्ट ७२ एम्पियर आवरको ग्राफिन ब्याट्री उपलब्ध छ। यसमा कार्गो बोक्नका लागि फन्ट र रियरमा स्पेस दिएको छ।
योम मा ई मोटर्स प्रालिले हाल नेपालमा टेल्जीका ३ मोडलका स्कुटर बिक्री गर्दै आएको छ। कम्पनीले नेपालका मुख्य १० सहरहरूमा आफ्नो बिक्री र बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीले टेल्जीका स्कुटरहरूमा लाइफटाइम निःशुल्क सर्भिस उपलब्ध गराउँदै आएको छ।