
काठमाडौं। ५० वर्षको लिगेसी बोकेको अटो व्यवसायीहरुको साझा संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालभित्रको विवाद अध्यक्षविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तहसम्म पुगेको छ।
संशोधित विधानलाई जिल्ला प्रशासन कार्यालयले मान्यता दिन नमानेपछि वरिष्ठ उपाध्यक्षबाट सदस्यमा घटुवा भएका आकाश गोल्छाले आफ्नो पक्षमा रहेकाहरुलाई अध्यक्ष करण चौधरीविरुद्ध विरोधमा उतारेका छन्।
आकाश पक्षमाथि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन(नाइमा) खडा गर्न भूमिका निर्वाह गरेको आरोप छ।
नाडाभित्र विवाद भइरहँदा ठूला अटो व्यवसायीहरुले नाइमा खडा गरेका थिए। त्यसपछि नाडाभित्रको विवाद अहिले थप उत्कर्षमा पुगेको छ। अध्यक्ष करणविरुद्ध आकाश पक्षले अविश्वास प्रस्ताव ल्याउने तयारी थालेको छ।
आकाश पक्षले बिहीबार पत्रकार सम्मेलन गरेर करणका काम कारबाहीविरुद्ध आन्दोलन गर्ने बताएको छ। पत्रकार सम्मेलनमा आकाशसँगै सुनिल रिजाल, सन्जय कुमार खेतान र प्रदीपमान प्रधान उपस्थित थिए।
उनीहरुले करणमाथि नाडालाई आफ्नो निजी कम्पनी जसरी चलाउने खोजेको आरोप लगाए। करणले अध्यक्ष बन्नुअघि आफूसँग गरेको लिखित प्रतिबद्धतालाई पूरै बेवास्ता गरेको आरोप आकाशले लगाए।
करणलाई सहमति गरेर आकाश पक्षले नाडाको अध्यक्ष बनाएको थियो। सहमति पत्रमा करण, आकाश गोल्छा, ध्रुव थापा, निराकार श्रेष्ठ, मिलनबाबु मल्ल, राजनबाबु श्रेष्ठ र सुरेश उप्रेतीले हस्ताक्षर गरेका आकाशले बताए।


‘हामीले पूर्वअध्यक्षहरु सबैलाई राखेर चुनाव नगरी पालैपालो अध्यक्ष हुने सहमति गरेका थियौं। तर, करणजीले अध्यक्ष बनेपछि सहमतिलाई बेवास्ता गर्नुभयो। सहमति कागजमा मात्रै सीमित भयो,’ उनले भने।
सुनिल रिजालले नाडामा पेस गरेको पत्रको जवाफ नआए करणलाई कालोमोसो दल्नेसम्मको चेतावनी दिए। ‘हामीले मागेका कागजात र जवाफ नआए नाडामा ताला लगाउनेदेखि अध्यक्षलाई कालोमोसो दल्ने अवस्थासम्म सिर्जना हुन सक्छ,’ उनले भने, ‘नाडालाई सिध्याउन दिदैनौं। बरु नाडालाई स्पेयर पार्ट्सहरुको संगठन बनाउने छौं। अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव ल्याइ विशेष साधारण सभाबाट आकाशजीलाई अध्यक्ष बनाउनेछौं।’
गाडी आयात गर्ने नाडाका धेरै सदस्य अहिले नाइमामा पनि छन्।
अध्यक्ष करणले भने आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीबारे केही जानकारी नरहेको बताए।