गहना पसलबाट बिल नभएका दुई करोडको सुन, हिरा र पत्थर बरामद, चार भारतीय पक्राउ

बिजमाण्डू
२०८२ जेठ २९ गते १०:३७ | Jun 12, 2025
गहना पसलबाट बिल नभएका दुई करोडको सुन, हिरा र पत्थर बरामद, चार भारतीय पक्राउ

काठमाडौं। काठमाडौंको एक गहना पसलबाट बिल-भर्पाइ नभएका दुई करोड रुपैयाँभन्दा बढीका सुनचाँदीका गहना, हिरा तथा पत्थर बरामद भएको छ। बरामदीपछि प्रहरीले पसल सञ्चालकसहित चार जना भारतीयलाई पक्राउ गरेको छ।

Tata
GBIME

बिलविनै गरगहनाको कारोबार गरिरहेको सूचनाका आधारमा काठमाडौं महानगरपालिका-२२ प्युखा कृष्णचोकस्थित मुन्ना जेम एण्ड ज्वेलर्समा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर, काठमाडौं तथा प्रहरी वृत्त जनसेवा समेतबाट खटिएको संयुक्त टोलीले बुधबार छापा मारेको थियो। २ करोड १ लाख ७८ हजार ३ सय ६० रुपैयाँ बराबरका सुन, हिरा तथा पत्थरका गरगहना बरामद भएपछि धरपकड गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतको कोलकाताका हबिबुल शेख, सुरोजित दास, तमोल साद्रा र समिम शेख छन्। हबिबुल पसलका सञ्चालक हुन्। प्रहरीका अनुसार खानतलासीमा बरामद गरगहना र पत्थरको बिल भर्पाइ उनीहरुले देखाउन सकेनन्।

बरामद गरहगनासहित उनीहरुलाई कार्बाहीका लागि राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।