एनसेल फाउन्डेसनको वेस्ट ह्याकाथनमा थापाथली क्याम्पसका विद्यार्थीले मारे बाजी

बिजमाण्डू
२०८२ जेठ २६ गते २०:०३ | Jun 9, 2025
एनसेल फाउन्डेसनको वेस्ट ह्याकाथनमा थापाथली क्याम्पसका विद्यार्थीले मारे बाजी

काठमाडौं। विश्व वातावरण दिवसका अवसरमा एनसेल फाउन्डेसनले खाली सीसी र बुढानीलकण्ठ नगरपालिकासँग मिलेर गरेको राष्ट्रियस्तरको वेस्ट ह्याकाथनमा थापाथली क्याम्पसका विद्यार्थीहरूको टिम ईकोलुप पहिलो भएको छ।

Tata
GBIME

ईकोलुपले ट्र्यास डिजिटाइज शीर्षकअन्तर्गत आफ्नो नविन सोलुसन्स प्रस्तुत गर्दै प्रथम स्थान हासिल गरेको हो।

यो टिमले फोहोर वर्गीकरण गर्नेे, ट्र्याक गर्ने र उत्तरदायी बन्दै व्यवस्थापन गर्न उपभोक्तालाई प्रोत्साहन गर्ने डिजिटल प्लेटफर्म प्रोटोटाइप विकास गरेका छ। टिममा नितेश कुमार साह, धर्मेन्द्र सिंह चौधरी, रमेश कठायत र बिपिन कुमार मरासिनी थिए।

फोहरमैला व्यवस्थापनमा केन्द्रित ह्याकाथनमा सहभागिताका लागि ४०० भन्दा बढीले आवेदन दिएकामा अन्तिममा १३ उत्कृष्ट टोली छनोटमा परेका थिए ।

त्यसैगरी, किङ्स कलेजका विद्यार्थीहरूको फुलस्ट्याकजिरोवेस्ट टिम दोस्रो भएको छ। फुलस्ट्याकजिरोवेस्ट टिम ल्यान्डफिल टु सरकुलेटरी शीर्षकअन्तर्गत उत्कृष्टता प्रदर्शन गर्दै दोस्रो भएको हो। टिममा अंशु रेग्मी, रोजन श्रेष्ठ र कबिश पोख्रेल थिए।

काठमाडौं विश्वविद्यालयको आर्टिफिसियल इन्टेलिजेन्स विभागका विद्यार्थीहरूको टिम सोर्स कोडले तेस्रो स्थान हासिल गरेको छ। यो टिममा अमन कुमार झा, अंशु पटेल, भवुक थापा र आयुष गौतम थिए। उनीहरुले वेस्ट विथआउट स्मोक शीर्षक अन्तर्गत डेटा र एआईमा आधारित समाधान विकास गरेका थिए। यो समाधानले नगरपालिकालाई फोहोर व्यवस्थापन अनुकूलन र कार्बन उत्सर्जन ट्र्याक गर्न सहयोग पुऱ्याउँछ।

तीन टोलीले नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्चबाट परामर्श र इन्क्युबेसन सहयोग प्राप्त गर्नेछन्। साथै मञ्च, खाली सीसी र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा पाइलट योजना कार्यान्वयनको अवसर प्राप्त गर्नेछन्।

‘यो कार्यक्रम केवल प्रतियोगिता थिएन। सिभिक इनोभेसनका लागि एक प्लेटफर्म पनि थियो जहाँ युवाहरूले प्रविधि र उद्देश्यको माध्यमबाट हरित भविष्य निर्माण गर्ने दिशामा योगदान दिए,’ एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन्।