
काठमाडौं। गत वर्ष बरामद ६१ किलो सुन प्रकरणको अनुसन्धान अझै जारी नै छ। यसको पूरक अभियोगपत्र जिल्ला अदालतमा दायर भइसकेको छ। यस प्रकरणमा जोडिएर पक्राउ परेबाहेकका अन्य प्रतिवादीलाई पनि प्रहरीले खोजी गरेको छ। जिल्ला अदालत काठमाडौंले पनि ३५ दिने सूचना जारी गरेको छ।
सोमबार अदालतले पक्राउ पुर्जीको सूचना प्रकाशित गरेको हो। अदालतको जेठ ११ गतेको निर्णय अनुसार पक्राउ पुर्जी जारी गरेको सूचनामा छ। पक्राउ पुर्जीको सूचना प्रकाशित हुने सूचीमा चिनियाँ र भारतीयसँगै नेपाली नागरिक पनि छन्।
पक्राउ पुर्जी जारी भएकाहरुमा ६ जना चिनियाँ नागरिकमा लौरोङ गोङबु, वाङ दाओजिङ, पेङ यङजिन, जोङ जियानहुआ, जोङ जिङचुआन र पिङ लिङफेन छन्। सुन बरामदीको घटना अघिसम्म उनीहरु काठमाडौंका विभिन्न स्थानमा बस्दै आएका थिए।
पक्राउ पुर्जी जारी भएका नेपालीहरूमा काठमाडौंको पेप्सीकोला बस्ने ४५ वर्षीय राम गुरुङ, झापाका लेखनाथ कार्की, दोलखाका कुमार भुजेल, विकेन्द्र भुजेल, जीवनकुमार गुरुङ, काभ्रेका पासाङ लामा, काठमाडौं चुनदेवी बस्ने जीवन चलाउने, दोलखाका दिलीप भुजेल, भीमबहादुर मगर र टाँसी शेर्पा छन्।
त्यस्तै विशालबजारमा सुन पसल चलाउने भारतीय नागरिक कमलकान्त कुल्थियाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। उनीहरूलाई खोजीसूचीमा राख्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेर २०८१ असार १८ मा नै मुद्दामा फरार प्रतिवादी बनाएको थियो।
उनीहरू विरुद्ध अवैध सुनको चोरी पैठारी, बैंकिङ कसुर लगायत आधा दर्जन जति मुद्दामा अनुसन्धान भएको थियो। गत साउन २ गते हङकङबाट अवैध रुपमा ब्रेक शुभित्र ल्याइएको ६१ किलो सुन भन्सार पास भएपछि बरामद भएको थियो। यो प्रकरणमा गत भदौ ३१ गते २९ जना प्रतिवादी बनाएर मुद्दा चलाइएको थियो।