क्रिकेट विश्वकप लिग-२ : लगातार तेस्रो जितको खोजीमा नेपाल, स्कटल्याण्डसँग फेरि भिड्दै

बिजमाण्डू
२०८२ जेठ २५ गते ११:३२ | Jun 8, 2025
क्रिकेट विश्वकप लिग-२ : लगातार तेस्रो जितको खोजीमा नेपाल, स्कटल्याण्डसँग फेरि भिड्दै
करण केसी। तस्बिर: क्यान

काठमाडौं । क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ। स्कटल्याण्डको डुन्डीस्थित फोर्थहिल स्टेडियममा दिउँसो पौने ४ बजे खेल सुरु हुनेछ।

Tata
GBIME

जारी सिरिजमा नेपालले दुई खेल खेल्दा दुवैमा जित निकालेको छ भने स्कटल्याण्डले दुई मध्ये एकमा जित निकालेको छ। नेपालले सिरिजको पहिलो खेलमा करण केसीको अविश्वसनीय प्रदर्शनको सहायतामा स्कटल्याण्डलाई हराएको थियो।

दोस्रो खेलमा नेदरल्याण्डलाई हराउँदा तेस्रो खेलमा नेपाली टोली आज बलियो आत्मविश्वासका साथ मैदान उत्रनेछ। त्यस्तै, पहिलो खेलमा नेपालसँग १ विकेटले पराजित भएको स्कटल्याण्डले दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराउँदै कमब्याक गरेको थियो।

स्कटल्याण्डमा नेपाली फास्टबलर सोमपाल कामी र करण केसीको लय राम्रो छ। अघिल्ला दुई खेलमा सोमपालले ५ र करणले ४ विकेट लिएका थिए। त्यस्तै, ओपनर कुशल भुर्तेलले दुवै खेलम नेपालको ब्याटिङ सुरुवात राम्रो बनाउन योगदान दिँदै आउँदा मध्यक्रमका गुल्सन झाले खेलको अवस्था अनुसारको ‘मोमेन्टम’ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।

८ टोली सहभागी क्रिकेट विश्वकप लिग-२ मा नेपाल अंकतालिकाको सातौँ स्थानमा छ। १४ खेल खेलेको नेपालसँग तालिकामा १० अंक छ। नेपाल भन्दा अघि रहेको नामिबियाको १४ अंक छ। आजको खेलमा जित निकाले नेपालको १२ अंक हुनेछ तर सातौँ स्थानमै कायम रहनेछ। अर्कोतर्फ स्कटल्याण्ड २२ अंकसहित तालिकाको चौथो स्थानमा छ। आजको खेलमा नेपाललाई हराउन सके तेस्रो स्थानको ओमनसँग अंक बराबरी गर्नेछ।