आरसीबीका मार्केटिङ र रेभेन्यु प्रमुखसहित चार जना पक्राउ, भागदौडमा ११ जनाको भएको थियो मृत्यु

बिजमाण्डू
२०८२ जेठ २३ गते १२:१६ | Jun 6, 2025
आरसीबीका मार्केटिङ र रेभेन्यु प्रमुखसहित चार जना पक्राउ, भागदौडमा ११ जनाको भएको थियो मृत्यु
Credit: DH Photo/Pushkar V

रोयल चालेन्जर्स बेङ्ग्लुरुका उच्च अधिकारीसहित ४ जनालाई कर्नाटका प्रहरीले पक्राउ गरेको छ।

Tata
GBIME

इण्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो पटक च्याम्पियन बनेको टोली रोयल च्यालेन्जर्स बेङ्ग्लुरु (आरसीबी)को सेलिब्रेसनका क्रममा मच्चिएको भागदौडमा कम्तीमा ११ जनाको निधन र ५० जना बढी घाइते भएका थिए। बेङ्ग्लुरुको चिन्नस्वामी स्टेडियम बाहिर भएको भागदौडमा व्यवस्थापनमा कमजोरी गरेको भन्दै आरसीबीका अफिसियललाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा आरसीबीका मार्केटिङ र रेभेन्युका प्रमुख निखिल सोसाले लगायतका अफिसियल छन्। केम्पेगौड विमानस्थलबाट मुम्बई जान लागेका उनीलाई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बिहीबार एफआईआर दर्ता भएपछि कर्नाटकाका मुख्य मन्त्री सिद्धरामैयाले आरसीबीका प्रतिनिधीहरुलाई पक्राउ गर्न निर्देशन दिएका थिए।

सोसालेसँगै पक्राउ पर्ने तीन जनामा इभन्ट म्यानेजमेन्ट कम्पनी डीएनए इन्टरटेन्मेन्ट प्राइभेट लिमिटेडका सदस्य छन्।

मृतकका परिवारहरुले कमजोर तयारी रहेको, योजना कमजोर बनाएर अन्तिम समयमा परिवर्तन गरेको आरोप लगाएका छन्।

कर्नाटका सरकारले मृतकलाई १० लाख रुपैयाँ प्रदान गर्ने र घाइतेको उपचार नि:शुल्क गर्ने घोषणा गरेको छ। त्यस्तै आरसीबीले पनि १० लाख रुपैयाँ र उपचारमा सहयोग गर्ने जनाएको छ।

प्रहरीले आरसीबी, डीएनए इन्टरटेन्मेन्ट र कर्नाटका क्रिकेट प्रशासनविरुद्ध एफआईआर दर्ता गरेको छ। त्यस्तै कर्नाटका सरकारले बेङ्ग्लुरु पुलिस कमिस्नर बी दयानन्दलगायत उच्च प्रहरी अधिकारीहरुलाई पनि निलम्बन गरेको छ।

यो घटनाक्रमको अध्ययनका लागि कर्नाटक सरकारले पूर्व हाइकोट जज माइकल डी कुन्हाको नेतृत्वमा आयोग बनाएको छ। यसमा ३० दिनभित्र अनुसन्धान गरेर प्रतिवेदन दिन भनिएको छ।