
काठमाडौं। नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। एएफसी एसिया कपको तयारीका रुपमा हेरिएको यो खेल साँझ पौने ६ बजे हङकङ स्टेडियममा सुरु हुनेछ।
यी दुवै टोली एएफसी एसिया कप २०२७ को तेस्रो चरणको छनोटको तयारीमा छन्। नेपाल छनोटमा समूह ‘एफ’मा भियतनाम, मलेसिया र लाओससँग छ।
पहिलो खेलमा मलेसियासँग पराजित भएको नेपाल दोस्रो खेलमा जेठ २७ गते लाओससँग भिड्दैछ। अर्कोतर्फ हङकङ समूह ‘सी’मा भारत, बंगलादेश र सिंगापुरसँग छ। २७ गते नै हङकङले भारतसँग प्रतिस्पर्धा गर्नेछ।
हङकङले जेठ १६ गते प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गरेको थियो। यो खेलमा युनाइटेडले ३-१ गोलअन्तरले जित निकालेको थियो।
हङकङविरुद्ध जित हात पार्ने मनोबलका साथ नेपाली टोली मैदानमा उत्रने नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले बताएका छन्। बुधबार हङकङ स्टेडियममा आयोजित प्रि म्याच क्रन्फ्रेन्सका क्रममा मुख्य प्रशिक्षक रसले हङकङलाई नजिकबाट नियालेको बताए।
रातिको खेलमा हङकङको अवस्था राम्रो भए पनि आफूहरूले पछिल्लो करिब एक महिना कडा मेहनत गरेका उनले बताए।
‘हामीले एशियन च्याम्पियन्सिप छनोटमा लाओसविरुद्धको खेल पूर्व यसप्रकारको मैत्रीपूर्ण म्याच खेल्नुले सकारात्मक उर्जा दिएको छ,’ उनले भने, ‘हामीले यस मैत्रीपूर्ण खेलमा देखिने कमीकमजोरीलाई लाओसविरुद्ध सुधार्ने अवसर पाउनेछौँ।’
उनले नेपालमै ‘हाइ अल्टिच्युड’मा केही समय अभ्यास गरेको बताउँदै नेपाली टोली आगामी दुई खेलका लागि पूर्णरुपमा तयार रहेको दाबी गरे।
त्यस्तै, कप्तान किरण चेम्जोङले हङकङसँगको मैत्रीपूर्ण म्याच मात्र नभएर लाओसविरुद्धको खेलका लागि समेत उत्कृष्ठ अभ्यास गरेको बताए।
‘हामी विपक्षीलाई सम्मान गर्छौ। तर पाहुना टोलीका रुपमा हामी भोलि हुने खेलका लागि तयारीमा रहेका छौँ,’ उनले भने।
हङकङको टोली फिफा वरियतामा नेपालभन्दा २२ स्थान अगाडि छ। हङकङ १५३ औं स्थानमा छ भने नेपाल १७५ औँ स्थानमा छ।
नेपाल र हङकङ यसअघि एकपटक आमनेसामने भएका छन। सन् १९८८ मा भएको खेलमा यी दुई टोली गोलरहित बराबरीमा रोकिएका थिए।