
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारीसाधन (इभी)को चार्जिङ स्टेसन संचालनमा ल्याएको छ। बैंकले आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेसन संचालन आएको जनाएको छ।
बिहीबार आयोजित एक कार्यक्रमका बीच बैंकका संचालक कृष्ण प्रसाद शर्मा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले संयुक्तरुपमा उक्त चार्जिङ स्टेसनको उद्घाटन गरेका छन्। गाडी चार्ज प्रालिसँगको सहकार्यमा बैंकले स्थापना गरेको सीसीटू सिगंल गनको क्षमता ४० किलोवाट छ।
उक्त चार्जिङ स्टेसनमा बैंकमा सेवाका लागि आउने ग्राहक र बैंकका कर्मचारीहरूले आफ्नो इभी चार्ज गर्न सक्नेछन्। पछिल्लो समय विद्युतीय सवारीसाधनका प्रयोगकर्ता बढेसँगै बैंकमा आउने ग्राहकहरूको सवारी साधनलाई लक्षित गरी चार्जिङ स्टेसन संचालनमा ल्याइएको बैंकले जानकारी दिएको छ।
कार्यक्रममा बैंकका संचालक शर्माले बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गरी वातावरण अनुकुल इभीको प्रर्वर्धनको एक पहलको रुपमा यस चार्जिङ स्टेसनको स्थापना गरेको जानकारी दिए। साथै, बैंकले आफ्नो व्यवसाय विस्तारसँगै वातावरणमैत्री उपायहरू अवलम्बन गरिरहेको समेत उल्लेख गरे।
साथै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्लोबल आइएमई बैंक वातावरण संरक्षण र उत्तरदायी बैंकिङप्रति प्रतिबद्ध रहेको बताए। उनले ग्लोबल आइएमई बैंकले आफ्नो १८औं वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा १८ हजार विरुवा रोपण गरिरहेको बताए।
बैंकले वातावरणमैत्री प्रोडक्टहरू ल्याएर वातावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणमा काम गरिरहेको उनको भनाइ थियो। उनले ग्लोबल आइएमई बैंकले संचालन गरेको इभी चार्जिङ स्टेसन अन्य बैंक तथा वित्तीय संस्थाहरूले समेत अवलम्बन गर्ने विश्वास व्यक्त गरे।