उसु खेलाडी ‘तारो’ बन्दा पन्छिँदै संघ, रोकिएको भुक्तानीबारे के भन्छन् मन्त्री चौधरी?

मुकुन्द घिमिरे
२०८२ जेठ २२ गते ०९:४७ | Jun 5, 2025
उसु खेलाडी ‘तारो’ बन्दा पन्छिँदै संघ, रोकिएको भुक्तानीबारे के भन्छन् मन्त्री चौधरी?

काठमाडौं। युवा तथा खेलकुद मन्त्रालय र ओलम्पिक कमिटीको विवादको ‘तारो’ उसु खेलाडी बनेका छन्। नेपाली खेलाडीले जापानमा खेल्दा बाँकी रहेको भुक्तानी राष्ट्रिय खेलकुद परिषदले तिर्न लाग्दा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले रोकेपछि विवाद चर्किएको छ।

Tata
GBIME

ओलम्पिक कमिटीको चुनावताका जीवनराम श्रेष्ठ विधान नै फेरेर अध्यक्षमा दोहोरिँदा युवा तथा खेलकुद मन्त्रालयले निर्वाचन रोक्न हरसम्भव प्रयास गरेको थियो। तर, मन्त्रालयले अवैधानिक भन्दाभन्दै श्रेष्ठले चुनावमात्र गराएनन्, अन्तर्राष्ट्रिय समर्थन पनि जुटाए। यस्तोमा ओलम्पिक कमिटी र यसका सहयोगी संघसँग मन्त्रालयको सम्बन्ध राम्रो छैन।

खेलकुदको राजनीति केही महिनायता सेलाए पनि उसु खेलमा त्यसको असर देखिएको छ। हाल नेपालमा दुईवटा उसु संघ छन्, एउटालाई राष्ट्रिय मान्यता छ र अर्कोलाई अन्तर्राष्ट्रिय। अन्तर्राष्ट्रिय मान्यता पाएको संघ ओलम्पिकसँग छ।

ओलम्पिकसँग निकट संघबाट जापानमा सम्पन्न उसुको प्रतियोगितामा पाँच खेलाडी र दुई अफिसियलले सहभागिता जनाएका थिए। नतिजा पनि राम्रो आएको थियो। खेलाडीहरु दीपक हमाल, पासाङ शेर्पा, राजीव तामाङ र निमा घर्ती मगरले जापानको प्रतियोगिता आगामी चरणमा स्थान पनि बनाए।

जापानमा सहभागी हुन जाँदाखेरीको ७ हजार अमेरिकी डलर रकम नेपालले जापान उसु संघलाई तिर्न बाँकी छ। संघका दुई जना अफिसियलको पैसा भने तिरिसकेको छ। खेलाडीले चीनमा अर्को सहभागिता जनाउन त्यो पैसा तिरिसक्नु पर्ने हुन्छ।

उसु खेलाडी दीपक हमाल।

‘हामी नेपाल फर्किएको एक महिनापछि जापानको उसु फेडेरेसनले नेपाललाई बाँकी रहेको रकम तिर्नुहोस् भनेर मेल पठायो। बिल ७ हजार डलर जतिको थियो,’ खेलाडी दीपक हमालले भने, ‘यहाँ महासंघले हामी तिर्न सक्दैनौँ तिमीहरुले नै म्यानेज गर भनेर हामीलाई भन्यो।’

हमालले आफूले यो रकम तिर्न नसक्ने भएपछि राखेपमा कुरा राखेको बताए।

‘राखेप सदस्यसचिवले सकारात्मक भएर खेलाडीलाई मार पर्ने कुरामा रोकतोक हुनुहुँदैन भनेपछि रकम निकासीको प्रक्रिया अघि बढ्यो,’ उनी भन्छन्, ‘फाइल अघि बढेर १० बजे बैंक लैजानमात्र बाँकी रहेको अवस्थामा खेलकुद मन्त्रीज्युले फोन गरेर भुक्तानी रोक्न निर्देशन दिनुभएछ।’

त्यसपछि खेलाडीहरु मन्त्रालय पनि गए। खेलाडीहरु उसु संघको विवादका कारण रकम भुक्तानी रोकेको भनेर मन्त्री चौधरीले जवाफ दिएको बताउँछन्।

‘७ जनाको बिल तिर्नुपर्ने थियो। जसमा दुई जना पदाधिकारी लाक्पा छिरिङ शेर्पा र निकेश श्रेष्ठको पैसा संघबाट भुक्तानी भयो,’ उनले भने, ‘बाँकी पाँच जनाको राखेपले तिर्दिने भएको थियो मन्त्रालयले नतिर्न निर्देशन दियो। किन नतिर्ने भन्दा विवादलाई कारण देखाउनु भयो।’

मन्त्री भन्छन्: संघले जिम्मेवारी लिनुपर्छ

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले भने यसको जिम्मेवारी सम्बन्धित संघले लिनुपर्ने बताए। आफूले रोकेको नभएर प्रक्रियामा नै त्रुटि भएको दाबी उनले गरे।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी। फाइल फोटो: राखेप

‘ओलम्पिकका साथीहरु अवैधानिक छन्। प्रक्रियामा त्रुटि छ,’ मन्त्री चौधरीले भने, ‘जाने बेला खेलकुद परिषदले खर्च पनि दिएको रहेछ। होटल र टिकटको पैसा ड्यु छ भने नतिरिकन कसरी छाड्यो?’

मन्त्री चौधरीले संघले यसको जिम्मेवारी लिनुपर्ने बताए। ‘जसले खेलाडीहरु लिएर गएको छ, उसैले यसको जिम्मेवारी लिनुपर्छ।’ उनले भने।

पिसाइमा खेलाडी

एकातर्फ जिम्मेवारी लिएर बसेको महासंघबाट खेलाडीले ‘यति ठूलो रकम हामी तिर्न सक्दैनौँ, आँफै म्यानेज गर’ जवाफ पाएका छन्। अर्कोतर्फ मन्त्रालयबाट ‘दुई वटा संघ रहेको र विवाद रहेको’ भन्दै भुक्तानी रोकिएको छ। यस्तोमा खेलाडीको मेहेनतमा असर पर्ने अवस्था भएको छ।

यसअघि सेप्टेम्बरमा १० औँ उसु च्याम्पियनसिपमा सहभागिता जनाएका हमाल त्यहाँ शीर्ष ६ मा पर्दै एसिया कपमा क्वालिफाइ भए। यो प्रतियोगिता चीनमा जुलाई महिनामा हुँदैछ। खेल्नका लागि खेलाडीहरुको नामसमेत आइसक्यो।

‘फाइनल इन्ट्री जुन २२ सम्म थियो। फाइन तिरेर लेट इन्ट्री ५ तारिखसम्म छ, अर्थात बिहीबारसम्म। इन्ट्री भएन भने म खेल्न पाउँदिन,’ हमालले भने। बाँकी खेलाडी भने विभागका भएकाले अगाडि बोल्न चाहेनन्।

‘मन्त्रालयको संघसँग के छ झैंझगडा त्यसमा हामी पिसिनु भएन। यो रकम तिरेन भने अरु खेल खेल्न पाइँदैन, ब्ल्याकलिस्टमा राख्दिन्छ। यो तिर्न सक्ने अवस्था छैन, म आफैं बेरोजगार छु,’ उनले भने,’

अर्कोतर्फ संघ पनि खेलाडीलाई अघि लगाएर आफू दायित्वबाट पन्छिन खोजिरहेको देखिन्छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त संघ भनेर जुँगाको लडाइ भिड्ने संघले खेलाडीको सहभागिता खर्च जुटाउन आँफै समन्वय गर्न नसकेको देखिन्छ।

‘हामीले संघलाई कुरा राखेको हो। खेलेर दुई दिन अतिरिक्त बसेको चाहिँ हेरिदिनु भयो,’ हमालले भने, ‘यो रकम ठूलो छ, संघले ब्यहोर्न सक्दैनौँ भन्नु भयो।’