स्कटल्याण्डमा नेपाली समर्थकलाई क्यानको आग्रह : सुरक्षा चिन्ता थपियो, मैदानभित्र नपसिदिनुहोस्

बिजमाण्डू
२०८२ जेठ २१ गते १२:५५ | Jun 4, 2025
स्कटल्याण्डमा नेपाली समर्थकलाई क्यानको आग्रह : सुरक्षा चिन्ता थपियो, मैदानभित्र नपसिदिनुहोस्
स्कटल्याण्डमा नेपाली समर्थक। तस्बिर : क्यान

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आफ्ना समर्थकहरूलाई खेलका दौरान र खेलपछि मैदानमा प्रवेश नगर्न आग्रह गरेको छ। नेपाली टोलीले आज स्कटल्याण्डमा क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध खेल्ने तालिका रहँदा समर्थकलाई मैदानमा प्रवेश नगर्न आग्रह गरेको हो।

Tata
GBIME

‘अन्तर्राष्ट्रिय खेल नियमहरू बमोजिम सबैको सुरक्षाको हितलाई ध्यान राख्दै समर्थकहरूलाई खेल चलिरहेको बेला या खेल सकिएपछि खेल मैदानमा प्रवेश नगर्न अनुरोध गर्दछौं,’ क्यानले विज्ञप्तिमा भनेको छ।

यसअघि, नेपालले घरेलु टोली स्कटल्याण्डसँग पहिलो खेल खेलेको थियो। उक्त खेलका दौरान त्यहाँका सुरक्षाकर्मीलाई बाउन्ड्री नजिक रहेका समर्थकहरू सम्हाल्न कठिन परेको थियो भने खेल सकिएपछि सबै समर्थक दौडिएर मैदानभित्र प्रवेश गरेका थिए।

समर्थकहरू पहिलो दिनको खेलमा नेपाललाई जिताउन नायक बनेका करण केसी भएको ठाउँमा पुगेका थिए। ललित राजवंशी लगायतका प्लेइङ ११ भन्दा बाहिरका खेलाडीले उनीहरूलाई रोक्ने प्रयास गरे पनि सफल हुन सकेनन्। यसले अन्तर्राष्ट्रिय खेलमा सुरक्षा चासोलाई संवेदनशील बनाएको थियो।

आज सिरिजको दोस्रो खेलमा नेपाल र नेदरल्याण्ड्स आमनेसामने हुँदैछन्। यो खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ।