लगातार दोस्रो जितको खोजीमा नेपाली क्रिकेट टोली, नेदरल्याण्ड्सँग आमनेसामने हुँदै

बिजमाण्डू
२०८२ जेठ २१ गते १२:३६ | Jun 4, 2025
लगातार दोस्रो जितको खोजीमा नेपाली क्रिकेट टोली, नेदरल्याण्ड्सँग आमनेसामने हुँदै
फिल्डिङमा नेपाली टोली। फाइल फोटो: क्यान

काठमाडौं। नेपाली क्रिकेट टोलीले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपाल र नेदरल्याण्ड्स आमनेसामने हुन लागेका हुन्।

Tata
GBIME

सिरिजमा नेपाली टोली लगातार दोस्रो जितको खोजीमा रहनेछ। पहिलो खेलमा नेपालले करण केसीको अविश्वसनीय प्रदर्शनको सहायतामा घरेलु टोली स्कटल्याण्डलाई हराएको थियो। नेपाली टोलीका लागि उक्त खेलमा करण केसी, गुल्सन झा र कुशल भुर्तेलले प्रभावशाली प्रदर्शन गरेका थिए।

आजको खेलमा घरेलु क्रिकेटमा पछिल्लो समय प्रभावशाली प्रदर्शन गरिरहेका ललित नारायण राजवंशी, बसीर अहमद र नन्दन यादवमध्येका खेलाडीले प्लेइङ ११ मा स्थान बनाउने बलियो सम्भावना छ। अघिल्लो खेलमा प्लेइङ ११ मा रहेका दीपेन्द्र सिंह ऐरी, आरिफ शेख र रिजन ढकालमध्येका खेलाडी बेन्चमा रहन सक्छन्।

नेपाल र नेदरल्याण्ड्सबीचका पछिल्ला ५ एकदिवसीय खेलमा डच टोलीले तीन पटक जित निकालेको छ भने नेपालले दुई पटक जित निकालेको छ। पछिल्लो पटक कीर्तिपुरमा सम्पन्न त्रिकोणात्मक सिरिजमा यी दुई टोली आमनेसामने हुँदै पहिलो खेल नेपालले र दोस्रो खेल नेदरल्याण्ड्सले जितेका थिए।

स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल स्टेडियममा खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ।

आजको खेलमा जित निकालेको खण्डमा १० अंकसहित नेपाल तालिकाको सातौँ स्थानमा नै कायम रहनेछ। यद्यपि, छैटौं स्थानको नामिबियासँग अंकदूरी घटाउने अवसर हुनेछ।

नेपालको हाल १३ खेलबाट ८ अंक छ भने नामिबियाको २० खेलबाट १४ अंक छ। अर्कोतर्फ, नेदरल्याण्ड्स २० खेलबाट २६ अंक बनाउँदै तालिकाको दोस्रो स्थानमा छ। आजको खेलमा जित निकाल्न सके शीर्षस्थानको अमेरिकासँग उसले अंक बराबरी गर्नेछ।