
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। राजावादी प्रदर्शनका क्रममा उनीहरूलाई प्रहरीले नारायणचौर क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि थापालाई पक्राउ गरिएको हो। उनीसँगै अन्य राप्रपा नेता कार्यकर्ता पनि प्रहरी नियन्त्रणमा परेका थिए। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ।
थापाको वीर अस्पतालमा स्वास्थ्य परीक्षण पनि गरिएको छ। सामान्यतया प्रहरीले प्रदर्शनमा नियन्त्रणमा लिइएकाहरूको स्वास्थ्य परीक्षण गर्दैन।
‘हिरासतमा राख्नु पर्यो भने गर्नुपर्ने भएकाले गरेको हो, अहिलेसम्म के गर्ने भन्ने टुंगो छैन,’ एक प्रहरी अधिकृतले भने।
नियन्त्रणको क्रममा थापालाई शरिरमा सामान्य चोट समेत लागेको छ।
प्रहरी नियन्त्रणमा ६२ वर्षीय शिला राणा, विनोद कपाली, रामचन्द्र लामिछाने, राकेश बस्नेत र सरोज तिमिल्सिना छन्। उनीहरू सुन चाँदी व्यवसायीहरू हुन्।