
काठमाडौं। सत्ताको साझेदारी गरिरहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाहेकका अन्य नेता प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा छैनन्। सरकारको कार्यशैली, ढिलासुस्ती र नागरिकको आक्रोशलाई केन्द्रमा राखेर आलोचना गर्न कांग्रेस नेता प्रतिपक्षी दलभन्दा एक कदम अघि छन्।
असन्तुष्टि बढ्दै गएपछि सरकारको नीति तथा कार्यक्रमको बचाउमा कांग्रेस नेता नउभिएको मात्रै होइन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा छलफलमा भाग लिएनन्। नीति कार्यक्रम छलफलको समय गगन देशबाहिर थिए, स्वदेशमै रहेका विश्वप्रकाश सदनको बहसमा हैन सगरमाथा बेसक्याम्प पुगे।
सदनमा मात्रै होइन संसदीय समितिमा समेत दुई दल फरक कित्तामा छन्।
उदाहरण – पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानबिन गर्न गठित उपसमितिको प्रतिवेदनलाई अख्तियार पठाउने सार्वजनिक लेखा समितिले बुधबार निर्णय गर्दा कांग्रेस एमालेको पक्षमा होइन प्रतिपक्षको कित्तामा उभियो। एमाले तत्कालै अख्तियारलाई अनुसन्धानको जिम्मा नदिने र लेखाले नै थप अध्ययन गर्नुपर्ने पक्षमा थियो। तर उसको केही चलेन। किनभने कांग्रेसले एमालेलाई साथ नै दिएनन्। कांग्रेसका सबैजसो नेताको मत विपक्षी सांसदसँग मिल्यो। अन्ततः विपक्षी सांसदहरूको माग अनुसारै निर्णयका लागि एमाले बाध्य भयो।
ओली नेतृत्वको सरकारलाई काँध हालिरहेको कांग्रेस मात्रै होइन सरकारको चर्को बचाउमा एमाले पनि छैन। अघिल्ला कार्यकालमा ओलीलाई एमालेका नेताहरूले चर्को बचाउ गर्ने गरेकोमा अहिले भने विरलै बचाउको स्वर सुनिएको छ।
एकातिर कांग्रेस-एमालेको ‘ट्युनिङ’ मिलिरहेको छैन भने अर्कोतिर दुवै दलभित्र सरकारका विषयमा उकुसमुकुस छ। सरकारविरुद्ध जनआक्रोश दिन प्रतिदिन बढ्दो छ। देउवा निकट मानिने नेता डा.प्रकशशरण महतसमेत पछिल्लो समय ओली सरकारको आलोचनामा उत्रिएका छन्। अर्का नेता शेखर कोइराला त सुरुदेखि नै सरकारको विपक्षमा छन्।
कांग्रेस-एमालेका शीर्ष नेताहरू सहभागी रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र समेत पछिल्लो समय निष्क्रिय छ। गभर्नर नियुक्तिको विषयको विवादले दुई दलबीचको सम्बन्धलाई थप अप्ठेरोमा पारेको थियो भने ओली आफू नेतृत्वको सरकार जोगाउन गभर्नर देउवाले भनेकै मान्छे नियुक्त गर्न बाध्य भएका थिए।
कांग्रेस ओलीको पक्षमा नउभिनु, एमालेले नै बचाउ नगर्नु र प्रतिपक्षी दलहरू हौसिनुका पछाडि के अर्को गठबन्धनका लागि गृहकार्य भइरहेको विषयले काम गरिरहेको छ?
नयाँ समीकरणका लागि गृहकार्यमा जुटेका एक नेताका अनुसार एमाले र कांग्रेस दुवै फरक फरक गठबन्धनबारे परामर्शमा जुटिसकेका छन्। त्यसका लागि एमालेले कांग्रेस बाहेकका दललाई ‘साथ दिनुपर्ने हुनसक्छ है’ भनेर भन्न थालेको छ भने कांग्रेसमा पनि देउवा बाहेकका नेताले अर्को गठबन्धन बनाउनेबारे परामर्श थालेका छन्। कांग्रेस-एमालेले नै नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नयाँ समीकरण बन्ने अवस्थामा निर्णायक ठानेका छन्।
‘ओलीको सरकार बनेको सुरु सुरुको बेलामा त हामीसँग बोल्न पनि एमाले कांग्रेसका नेताहरूले त्यति मन लगाइरहेका थिएनन्। बिस्तारै चिया खाऊँ भन्नेसम्म पुग्नुभएको थियो। तर पछिल्लो दुई महिना यता नयाँ समीकरण बन्ने अवस्थामा साथ दिनुपर्छ भन्नेसम्मका कुरा भइरहेका छन्,’ रास्वपाका एक पदाधिकारीले भने।
रास्वपाले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमार्फत नयाँ समीकरण बनेमा आफ्नो दलको २० सिटको समर्थन हुने सन्देश कांग्रेसका उच्च तहका नेताहरूलाई पठाइसकेको छ। ‘देउवा र ओली बाहेक अहिले लगभग सबै नयाँ गठबन्धनकै परामर्शमा छौं। हामीले नयाँ समीकरण बन्दा पूर्ण समर्थन गर्छौं भनेका छौं,’ उनले भने।
प्रचण्डले सार्वजनिक रूपमै कांग्रेस नेतृत्वको सरकार बनेमा आफ्नो समर्थन रहने बताइसकेका छन्। यसका लागि माओवादी केन्द्रले भित्र भित्रै नयाँ समीकरणका लागि प्रयास पनि गरिरहेको छ। तर, नयाँ समीकरणको टुंगोमा पनि दुई दल पुगिसकेका भने छैनन्। कांग्रेस -माओवादीबीचको संवादबारे संकेत पाएका ओली पनि आफ्नो सरकार अप्ठेरोमा पर्न सक्ने देखेपछि माओवादी केन्द्रसँग लचिलो छन्। देउवालाई नबोलाएरै ओलीले संक्रमणकालीन न्यायको विषय भन्दै प्रचण्डसँग छलफल गरेका थिए। त्यसपछि प्रचण्डले देउवाको गृह जिल्ला डडेलधुरा पुगेर देउवालाई फोन गरेका थिए भने माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले देउवालाई घरमै पुगेर भेटका थिए।