यामाहाले रिभर इन्डी मिलेर इलेक्ट्रिक स्कुटर ल्याउँदै, गोगोरोसँग पनि सहकार्य गर्ने

बिजमाण्डू
२०८२ जेठ ४ गते ११:५६ | May 18, 2025
यामाहाले रिभर इन्डी मिलेर इलेक्ट्रिक स्कुटर ल्याउँदै, गोगोरोसँग पनि सहकार्य गर्ने


काठमाडौं। यामाहा मोटर कम्पनीले स्टार्टअप कम्पनी रिभर इन्डीसँग मिलेर यामाहा इलेक्ट्रिक स्कुटर बजारमा ल्याउने भएको छ। कम्पनीले इलेक्ट्रिक स्कुटर ल्याउनका लागि रिभर इन्डीसँग टिम तयार बनाएर काम सुरु गरेको हो। जसको मोडल आरवाई जेरो वन कोड नेममा विकास गर्ने योजना छ।

Tata
GBIME

यस्तै, यामाहाले आरवाई जेरो वन कोडनेममा ताइवानी ब्रान्ड गोगोरोसँग पनि सहकार्य गर्ने योजना बनाइरहेको छ।

यामाहाले भारतीय स्टार्टअप रिभरसँग मिलेर आफ्नो पहिलो विश्वव्यापी इलेक्ट्रिक स्कुटर तयार पार्न लागेको हो। यो कदमले यामाहाको हाइ-भोल्युम भारतीय इभी बजारमा प्रवेश मात्र नभइ यसको उत्पादन रणनीतिमा पनि परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। जसले युरोपमा कम रेन्ज भएको स्कुटरको उत्पादन रणनीतिलाई समेत यसले परिवर्तन गरेर पर्फर्मेन्स ओरियन्टेड प्लेटफर्ममा यसको डीएनए समावेश हुनेछ।

यामाहा ई-स्कुटरमा रिभर इन्डीको भन्दा धेरै फरक डिजाइनहरु हुने कम्पनीले जनाएको छ। तर दुवै कम्पनीले आआफ्नो पावरट्रेन र ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) साझेदारी गर्नेछन्। यामाहाले पनि आफ्नो छुट्टै इभी प्लेटफर्म निर्माण गर्ने रणानीति बनाइरहेको छ।

यो स्कुटर भारतमा बन्नेछ भने भारतबाट ग्लोबल रुपमा निर्यात हुनेछ। यो स्कुटर यही आगामी जुलाईदेखि सेप्टेम्बरसम्ममा तयार हुने बुझिएको छ। आरवाई जेरो वन स्कुटरलाई यामाहाको जापानमा रहेका ग्लोबल इन्जिनियरिङ टिमले पनि विकास गरिरहेका छन्।

अहिले भारतमा टीभीएसको २२ प्रतिशत, बजाजको २१ प्रतिशत, एथरको १४ प्रतिशत र हिरो भिडाको ७ प्रतिशत दुई पाङ्ग्रेको बजार हिस्सा छ। रिभरले भारतीय आन्तरिक बजार विस्तार र ११ देशहरुमा निर्यात गर्ने लक्ष्य राखेको छ। जसलाई यामाहाले साथ दिने भएको हो।