चर्को आलोचनापछि हितेन्द्रदेव : पूर्वाधारमा लगानी कम भयो, हामी भारतको सिस्टममा निर्भर छौं

जनक वली
२०८२ जेठ २ गते १७:०६ | May 16, 2025
चर्को आलोचनापछि हितेन्द्रदेव : पूर्वाधारमा लगानी कम भयो, हामी भारतको सिस्टममा निर्भर छौं
हितेन्द्रदेव शाक्य

काठमाडौं। बिहीबार साँझ करिब २ घण्टा बिजुली आपूर्तिमा देशभर नै समस्या आयो। बिजुली झ्याप्प झ्याप्प बिजुली गएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको चर्को आलोचना भयो।

Tata
GBIME

सामाजिक सञ्जालमा ‘अब इन्भर्टर र मैनबत्तीको दिन आए’, ‘प्राधिकरणले लोडसेडिङको ट्रेलर सार्वजनिक गर्‍यो’ लगायत टिप्पणी भए।

चर्को आलोचनापछि शाक्यले शुक्रबार पत्रकार सम्मेलन गरे जहाँ उनी प्राविधिक कारणले बिजुली गएको भन्दै डिफेन्सिभरुपमा प्रस्तुत भए।

पत्रकार सम्मेलनमा हितेन्द्रदेव शाक्य

शाक्यका अनुसार बिहीबार साँझ भारतको मुजफ्फरपुर क्षेत्रमा हावाहुरीले गर्दा ढल्केबर-मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनको २ वटै लाइन ट्रिपिङ (अवरुद्ध) भयो। हावाहुरीकै कारण ढल्केबर-नवलपुर प्रसारण लाइनको ढल्केबर क्षेत्रमा ठूलो रुखको हाँगा खस्यो। त्यसपछि ढल्केबरबाट पश्चिम जाने लाइनमा ट्रिपिङ भयो।

ढल्केबर पश्चिमको १३२, ३३ र ११ केभी लाइनमा समेत रुख ढलेर पोल तथा कण्डक्टरमा क्षति पुर्‍याएका कारण देशैभर एकै समयमा विद्युत आपूर्तिमा समस्या आयो।

समस्या आएको आएको टावर

प्राधिकरणको टोलीले क्षति पुगेको प्रसारण लाइनबाट पटक पटक विद्युत पठाउन खोज्यो। तर, रुखको हाँगाका कारण सम्भव भएन। मुजफ्फरपुर-ढल्केबरको दुबै लाइन ट्रिपिङ भएपछि प्राधिकरणलाई झनै सकस पर्‍यो। करिब २ घण्टा देशभर बिजुली आपूर्तिमा पटक पटक समस्या आयो।

त्यसपछि कार्यकारी निर्देशक शाक्य स्युचाटारमा रहेको लोड डिस्पाच सेन्टरमा पुगे। ढल्केबर-मुजफ्फरपुरको २ वटै लाइन ट्रिपिङ भएपछि प्राधिकरणले भारतसँग समन्वय गर्‍यो। लाइन चार्जका लागि प्राधिकरणले एलडीसी र ढल्केबरबाट गरी २ वटा कोड पठायो।

‘हामीले २ वटा चार्जिङ कोड पठायौं। कोड चेक गरेर ओके भनेपछि उहाँहरुले चार्जका लागि अनुमति दिनुभयो,’ शाक्यले भने, ‘त्यसपछि समस्या समाधान भयो।’

हितेन्द्रदेव शाक्य

शाक्यले पत्रकार सम्मेलनमा कमजोर प्रणालीका कारण बिजुली ट्रिपिङ हुने गरेको बताए। उत्पादनको तुलनामा माग धेरै हुँदा पनि बेलाबेला ट्रिपिङ हुने गरेको उनको भनाइ छ।

अहिले पिक आवरमा सम्पूर्ण आयोजना चलाउँदा पनि १३ सय मेगावाट हाराहारी उत्पादन छ। प्राधिकरणका अनुसार पिक डिमाण्ड २ हजार मेगावाट नाघेको छ।

‘त्यस्तो बेलामा ट्रिपिङ हुँदा हाम्रो आन्तरिक उत्पादनले मात्र सिस्टम धान्दैन, प्रष्टै छ,’ उनले भने, ‘त्यो नधानेको बेलामा हाम्रा साथीहरुले एलडीसीमा बसेर कालीगण्डकी, कुलेखानी-१, मर्स्याङ्डी, मिडिल मर्स्याङ्डीलाई चार्ज गर्ने प्रयास गर्नुभयो। तर, पिक लोडको समय भएकाले प्रणाली विक भयो। प्रणाली विक भएका कारण काठमाडौंमा चार्ज गर्न खोज्दा बेला बेलामा ट्रिपिङ भयो।’

बिहीबारको घटनाले भारतको सिस्टमबिना प्रणाली सञ्चालन गर्ने गाह्रो हुने स्पष्ट भएको शाक्यले बताए।

‘ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइन चार्ज गर्नका लागि कोड आदानप्रदान गर्न केही ढिला भयो। नेपालको सिस्टमबाटै सञ्चालन गर्न कोसिस गर्दा पिक समय परेको र आन्तरिक उत्पादन कम भएकोले नधानेर पटक पटक ट्रिपिङ भयो,’ उनले भने, ‘उत्पादन कम भएको बेलामा ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइन कति महत्त्वपूर्ण छ भन्ने यस घटनाले स्पष्ट पारेको छ। हामी भारतको सिस्टममा निर्भर छौं भन्नु राम्रो कुरा त होइन। तर, हिजोको घटनाले माघ मध्यदेखि जेठ १५ सम्म भारतको सिस्टमविना हामीलाई प्रणाली सञ्चालन गर्न गाह्रो पर्छ भन्ने देखिएको छ। यो प्राविधिक गड्बडीले भएको हो।’

हितेन्द्रदेव शाक्य

शाक्यले बिहीबारको घटनालाई गम्भीररुपमा लिइ प्रसारण लाइनमा लगानी बढाउनुपर्नेमा जोड दिए।

‘प्रसारण लाइनमा अधिक लगानी जरुरी छ। प्राधिकरणसँग पैसा नभएर काम रोकिएको अवस्थामा झन् ठूलो दुर्घटना निम्तिन सक्छ,’ उनले भने, ‘विद्युत उत्पादन र खपतको तुलनामा हामीले प्रसारण लाइनमा लगानी गर्न सकेनौं। फाइनान्स कम भयो। गर्न चाहेको क्षेत्रमा वन र स्थानीयको अवरोधले चाहेजस्तो गर्न सकिएको छैन। विद्युत उत्पादन बढ्दै जाँदा प्रसारण नेटवर्किङ द्रुत गतिमा बढाउन सकेनौं भने सानो सानो घटनामा पनि ट्रिपिङ भइरहन्छ।’

शुक्रबार अपराह्न पनि विद्युत ट्रिपिङको समस्या दोहोरिएको छ।