संकट झेलिरहेको जापनिज कार निर्माता निसान चिनियाँ कम्पनी डोङफेङसँग साझेदारी गर्न इच्छुक

बिजमाण्डू
२०८२ जेठ २ गते १६:१७ | May 16, 2025
संकट झेलिरहेको जापनिज कार निर्माता निसान चिनियाँ कम्पनी डोङफेङसँग साझेदारी गर्न इच्छुक


काठमाडौं। जापनिज कार निर्माता कम्पनी निसान चिनियाँ सरकारी कम्पनी डोङफेङसँग साझेदारी गर्न इच्छुक देखिएको छ। ठूलो घाटा बेहोर्नु परेपछि निसान विश्वव्यापीरुपमा प्लान्टमा साझेदारी गर्न इच्छुक देखिएको हो।

Tata
GBIME

निसानले आफ्नो व्यवसाय बढाउनका लागि डोङफेङसँग विश्वभरका कारखानामा साझेदारी गर्न खुला रहेको बताएको छ।

कडा प्रतिस्पर्धाले मूल्य घट्दा निसानले विश्वको सबैभन्दा ठूलो कार बजार चीनमा संघर्ष गर्नु परिरहेको छ।

निसानले केही समय अगाडी होन्डासँग मिलेर इभी उत्पादन गर्ने योजना बनाएकामा असफल भएको थियो। जसले गर्दा निसान झन् संकटतिर धकेलियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शुल्कले निसानलाई थप संकटग्रस्त बनाएको छ। निसानले एक वर्षमा ६७० अर्ब येन (४.६ बिलियन डलर) घाटा बेहोरेको रिपोर्ट यसै साता सार्वजनिक भएको छ।

निसानले अमेरिका, चीन जस्ता प्रमुख बजारमा बिक्री घटेपछि ११ हजार कामदार हटाउने र सात कारखाना बन्द गर्ने घोषणा गरेको छ। निसानले गत नोभेम्बरमा ९ हजार कर्मचारी कटौती गरेको थियो। निसानले अहिले विश्वव्यापीरूपमा १ लाख ३३ हजार ५०० जनालाई रोजगारी दिइरहेको छ।

निसानको ब्याट्री साझेदार एईएससीले सण्डरल्याण्डमा नयाँ प्लान्टका लागि बेलायत सरकारबाट १.३ बिलियन डलरको कोष हात पारेको छ। यसले जुक र लीफ इलेक्ट्रिक मोडेलका लागि ब्याट्री उत्पादन गर्नेछ।