
काठमाडौं। ब्याजदर सस्तिंदा पनि ऋण लगानी खुम्चिएको छ। वैशाखमा बैंकहरुको ऋण लगानी ७ अर्बले खुम्चिएको छ।
बैंकहरुले चैत मसान्तसम्म ४९ खर्ब १५ अर्ब ऋण लगानी गरेकामा त्यस्तो रकम वैशाख मसान्तमा आइपुग्दा ४९ खर्ब ८ अर्बमा झरेको छ।
ब्याजदर घटे पनि कर्जाको माग बढ्न नसकेका कारण ऋण खुम्चिन पुगेको बैंकरहरु बताउँछन्। राष्ट्रिय वाणिज्य बैंकका सीइओ देवेन्द्ररमण खनालले अनेक स्किम ल्याउँदा पनि ऋण लगानी बढाउन नसकेको बताए।
‘हामीले कर्जा विस्तारका अनेक स्किम ल्याएका छौं। तर, जति गर्दा पनि माग बढ्न सकेन। अहिले त अन्तिम क्वाटरमा छौं। अन्तिम क्वाटरमा व्यवस्थापनको काम हुन्छ,’ उनले भने, ‘कर्जा एक ठाँउबाट अर्को ठाँउमा सर्ने गरेपनि ऋणको माग छैन।’
यसअघि गत कात्तिकमा ऋण २ अर्बले खुम्चिएको थियो।
चालु आर्थिक वर्ष साउनमा २ अर्बले बढेको कर्जा भदौमा ५३ अर्ब, असोजमा ५६ अर्ब, मंसिरमा ४२ अर्ब, पुसमा ९४ अर्ब, माघमा १२ अर्ब, फागुनमा २३ अर्ब र चैतमा ६५ अर्ब बढेको थियो।
सानिमा बैंकका सीइओ निश्चलराज पाण्डे वैशाख महिनामा कर्जा खुम्चिए पनि आर्थिक गतिविधि अपेक्षित रुपमा बढ्न नसकेका बेला १० महिनामा ७ प्रतिशत ऋण लगानी बढ्नुलाई सकारात्मक ठान्छन्।
‘कर्जा लगानी बढ्नका लागि बिजनेस फेन्डली वातावरण छैन। उपभोग बढ्न सकेको छैन। मानिसको आम्दानी बढेको छैन। त्यसैले ऋणको माग नै सुस्त छ,’ उनले भने, ‘यो भनेको आर्थिक गतिविधि सुस्त छ भन्ने हो। तैपनि यस्तो बेला १० महिनामा कर्जा ७ प्रतिशतले बढेको छ। यसमै खुशी हुनुपर्छ।’
बैंकरहरुका अनुसार खासगरी ठूला परियोजना र कर्पोरेट क्षेत्रबाट ऋणको माग आएको छैन। ‘अहिले रियल इस्टेट क्षेत्रमा कर्जाको माग छैन। इन्डस्ट्रियल र परियोजना कर्जाको त माग नै छैन,’ अर्का बैंकका सीइओले भने, ‘हामी सानो सानो कर्जा दिएर बसिरहेका छौं।’