
काठमाडौं। टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै नेपाल दूरसञ्चार प्राधिकरणका ३ महाशाखा र ५ शाखा एकैपटक नेतृत्वविहीन भएका छन्।
अख्तियारले बिहीबार ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार रुपैयाँ बिगो कायम गरी १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। त्यसमध्ये आठ जना प्राधिकरणको बहालवाला कर्मचारी छन्।
८ जनामध्ये ३ जना निर्देशक र ५ जना उपनिर्देशकहरू छन्। भ्रष्टाचार मुद्दासँगै प्राधिकरणको अनुगमन, प्रशासन र पूर्वाधार महाशाखा नेतृत्वविहीन बनेका हुन्। प्राधिकरणको अनुगमन महाशाखा निर्देशक विजयकुमार राय, प्रशासन महाशाखा निर्देशक दीपेश आचार्य र पूर्वाधार महाशाखा डा सुरेन्द्रलाल हाडाले नेतृत्व गरिरहेका थिए।
यस्तै, टेरामक्स मुद्दाका कारण योजना तथा व्यवस्थापन सूचना प्रणाली शाखाका उपनिर्देशक रेवतीराम पन्थ निलम्बित भएका छन्। उनी हाल प्राधिकरणको सूचना अधिकारीसमेत हुन्।
आर्थिक प्रशासन शाखाका उपनिर्देशक सुरेश बस्नेत, उपकरण स्तरीकरण शाखाका उपनिर्देशक हिरण्यप्रसाद बस्ताकोटी, फ्रिक्वेन्सी, सेवा गुणस्तर तथा सेवा प्रवाह अनुगमन शाखाका उपनिर्देशक अच्युतानन्द मिश्र र अनुमति व्यवस्थापन शाखाका उपनिर्देशक सन्दीप अधिकारी पनि निलम्बनमा परेका छन्। पाँचैजना उपनिर्देशकहरूले सम्बन्धित शाखा नेतृत्व गरिरहेका थिए।
यसअघि एमडीएमएस प्रकरणमा प्राधिकरणका बहालवाला ११ जना उच्च अधिकृत भ्रष्टाचार मुद्दा परेसँगै निलम्बन भएका थिए। त्यतिबेला पनि ३ जना निर्देशकनै निलम्बनमा परेका थिए।
महत्त्वपूर्ण महाशाखा तथा शाखाका प्रमुख नै निलम्बनमा परेर कार्यसम्पादनमै असर परेपछि प्राधिकरणले निलम्बनमा परेका निर्देशकहरूको ठाउँमा बहालवाला अरु निर्देशकहरूलाई जिम्मेवारी थपिदिएको थियो।