
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नर नियुक्तिमा आफ्नो चाहनाले मात्र काम नगर्ने बताएका छन्।
उनले बिहीबार सार्वजनिक मञ्चमार्फत आफू मेरिटोक्रेसीका आधारमा गभर्नर नियुक्त गर्ने पक्षमा रहेको तर आफूले चाहेर मात्र नहुने बताए।
कांग्रेससँगको किचलोका कारण एक महिनाभन्दा लामो समयदेखि गभर्नर नियुक्त गर्न नसकेका ओलीले बिहीबार पूर्वयोजनाकार मञ्च नेपालको शुभारम्भ कार्यक्रममा मेरिटोक्रेसीका आधारमा राष्ट्र बैंकको नेतृत्व चयन गर्नुपर्ने बताए।
‘राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन। मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो। काम गर्न सक्ने मान्छे भए देशलाई भैहाल्छ। मेरो मान्छे भन्ने चाहिँदैन,’ उनले भने, ‘म प्रधानमन्त्री हो। तर, सरकारमा म मात्र छैन। त्यसैले म सकेसम्म मेरिटोक्रेसीलाई महत्त्व दिन्छु,’ उनले भने।
राष्ट्र बैंकमा गभर्नर पद गत चैत २४ देखि रिक्त छ। प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको मत नमिल्दा गभर्नरको नियुक्ति हुन सकेको छैन। गभर्नर पद कांग्रेसलाई दिन तयार भएको भनिएका ओलीले देउवाले अगाडि सारेका नाममा विमत्ति जनाउँदै आएका छन्।
पछिल्लो पटक देउवाले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेललाई गभर्नरको रुपमा अगाडि सारेका छन्। तर, अहिलेसम्म गभर्नर सिफारिस समितिको बैठक नै बस्न सकेको छैन।