
बेलायती कार निर्माता कम्पनी ज्यागुआर ल्याण्ड रोभरले अमेरिकामा गाडी उत्पादन गर्ने आफ्नो कुनै योजना नरहेको बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ (भन्सार) नीतिको असरले अटो उद्योग प्रभावित भइरहँदा कम्पनीले यस्तो बताएको हो।
कम्पनीका प्रवक्ताले बीबीसीसँग भने, ‘हामीले अमेरिकामा कार निर्माण गर्ने कुनै योजना बनाएका छैनौँ। वार्षिक आम्दानीको घोषणासम्बन्धी सञ्चार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृतले दिएको अभिव्यक्तिको आधारमा आएका समाचारहरूपछि हामी यो पुष्टि गर्छौं।’
ज्यागुआरको अमेरिकामा कुनै कारखाना छैन। ट्रम्पले ट्यारिफको घोषणा गरेपछि गत अप्रिलमा कम्पनीले गाडी अमेरिका पठाउन रोकेको थियो। यद्यपि, मे महिनाबाट पुनः निर्यात सुरु गरिएको छ।
ट्रम्पको अनिश्चित व्यापार नीतिले विश्वभरिका व्यवसायहरू प्रभावित भइरहेकाले कम्पनीले आम्दानीको पूर्वानुमान घोषणा नगर्ने बताएको छ।
ट्रम्पले अप्रिलको सुरुतिर ‘स्वतन्त्रता दिवस’ भन्दै बेलायतबाट अमेरिका जाने सबै वस्तुमा १० प्रतिशत ट्यारिफ लगाउने एकपक्षीय घोषणा गरेका थिए। त्यसपछि कार, स्टिल र आलुमिनियममा अझ कडा मापदण्ड लागू गरिएको थियो।
तर, गत साता अमेरिकाले केही स्टिल र आलुमिनियम सामग्रीलाई ट्यारिफबिना भित्र्याउन दिने अनुमति दियो। साथै, केही निश्चित संख्यामा बेलायती गाडीहरूमा लगाइने कर पनि घटायो। यद्यपि, अधिकांश बेलायती वस्तुहरूमा अझै पनि १० प्रतिशत भन्सार कायम छ।
ज्यागुआरका प्रतिस्पर्धी विलासी कार निर्माता कम्पनी मर्सिडिज बेन्ज र स्टेलान्टिसले पनि आम्दानीको अनुमान सार्वजनिक नगर्ने निर्णय गरेका छन्। उता, फोर्डले भने अमेरिकी ट्यारिफले यो वर्ष आफूलाई करिब १.५ अर्ब अमेरिकी डलर घाटा हुने बताएको छ।
अटो उद्योगले मात्रै गभई अन्य ठूला कम्पनीहरूले पनि ट्यारिफको असरबारे हालै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
पछिल्लो महिना टेक जायन्ट इन्टेल, जुत्ता निर्माता स्केचर्स र उपभोक्ता सामग्री कम्पनी प्रोक्टर एन्ड ग्याम्बलले आर्थिक अन्योलका कारण नाफाको अनुमान घटाएका छन्। एडिडासले ट्रम्पको ट्यारिफले ‘गेजेल’ र ‘साम्बा’ जस्ता लोकप्रिय जुत्ताको मूल्य अमेरिकामा बढ्ने चेतावनी दिएको छ।
‘बार्बी’ गुडिया बनाउने कम्पनी माटेलले पनि यो महिना केही खेलौनाहरूको मूल्य अमेरिकी बजारमा बढाउने घोषणा गरेको छ। ट्यारिफले उत्पादन लागत बढाएका कारण कम्पनीले यस्तो निर्णय लिएको बताएको छ।