
काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी आयरल्याण्ड र युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बर्दियाको ठाकुरबाबा नगरपालिका-१ घर भएका ३५ वर्षीय प्रेम बहादुर साउद र ललितपुरको महालक्ष्मी नगरपालिका-१ बस्ने सुर्खेत सिम्ता गाउँपालिका-८ घर भएका २१ वर्षीय ललित बोहरा रहेका छन्।
साउदले आयरल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ४१ लाख ९० हजार रूपैयाँ लिएको खुलेको छ। त्यस्तै, बोहराले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले साउदलाई काठमाडौं महानगरपालिका-१२ बाट सोमबार र बोहरालाई ललितपुर महानगरपालिका-३ बाट मंगलबार पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।