नाडाले एसेम्बल प्लान्टका लागि माग्यो थप २५% भन्सार छुट, इन्धन सवारीमा कर घटाउन लबिइङ

बिजमाण्डू
२०८२ बैशाख ३० गते १८:३५ | May 13, 2025
नाडाले एसेम्बल प्लान्टका लागि माग्यो थप २५% भन्सार छुट, इन्धन सवारीमा कर घटाउन लबिइङ


काठमाडौं। अटो व्यवसायीहरुको संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले एसेम्बल उद्योगलाई थप छुट दिन माग गरेको छ।

Tata
GBIME

नाडाले आगामी आर्थिक वर्षको बजेटमार्फत एसेम्बल उद्योगलाई भन्सार शुल्कमा दिंदै आएको छुट ५० प्रतिशत पुर्‍याउन सरकारसँग माग गरेको हो।

अहिले एसेम्बल उद्योगले अनएसेम्बल बाइक तथा स्कुटर ल्याउँदा भन्सार शुल्कमा २५ प्रतिशत र अन्त:शुल्कमा ५० प्रतिशत छुट पाउँदै आएका छन्।

नाडाले सबै किसिमका अनएसेम्बल विद्युतीय सवारीसाधनको आयातमा भन्सार शुल्कमा ७५ प्रतिशत छुट दिन माग गरेको छ। अहिले इलेक्ट्रिक दुई र तीन पाङ्ग्रे सवारी एसेम्बल गर्ने उद्योगले मात्र पाटपूर्जा आयातमा भन्सार महशुल ७५ प्रतिशत छुट पाउँदै आएका छन्।  

यसैगरी, विद्युतीय सवारीसाधनमा प्रयोग हुने ब्याट्री प्रतिस्थापनका लागि रि एक्सपोर्ट र रिसाइकलको व्यवस्था मिलाउनु पर्ने नाडाको माग छ।

नाडाले इन्धन सवारीसाधनको कर घटाउन सुझाव दिएको छ। कार, जीप र भ्यानमा लाग्दै आएको ८० प्रतिशत भन्सार ६० तथा १० देखि १४ सिट क्षमताका व्यावसायिक प्रयोजनमा प्रयोग हुने सवारीसाधनको भन्सार ८० प्रतिशतबाट ३० प्रतिशतमा झार्नुपर्ने नाडाको माग छ।  

विद्युतीय सवारीसाधनमा पनि किलोवाटका आधारमा भन्सार र अन्त:शुल्क घटाउन माग गरिएको छ। ५० किलोवाटसम्मका गाडीमा भन्सार शुल्क १५ बाट ५ प्रतिशतमा झार्न र अन्त:शुल्क शून्य बनाउन तथा ५१ देखि १०० किलोवाटसम्मको स्ल्याबमा भन्सार शुल्क २० बाट १० प्रतिशतमा झार्न र अन्त:शुल्क शून्य बनाउन नाडाले सुझाव दिएको छ।

इभीको चार्जरहरुमा लाग्दै आएको १० प्रतिशत कर पनि शून्यमा झार्न आग्रह गरिएको छ।