हुलाक बचत बैंकको ५ करोड ३५ लाख हिनामिना प्रकरणमा अख्तियारद्वारा ६ जनाविरुद्ध मुद्दा

बिजमाण्डू
२०८२ बैशाख ३० गते १४:१५ | May 13, 2025
हुलाक बचत बैंकको ५ करोड ३५ लाख हिनामिना प्रकरणमा अख्तियारद्वारा ६ जनाविरुद्ध मुद्दा

काठमाडौं। हुलाक बचत बैंक बाराका बचतकर्ताको ५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख जयलालप्रसाद साह कानूसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

Tata
GBIME

सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मंगलबार मुद्दा दायर भएको हो। २०६० सालदेखि हुलाक बचत बैंकको जिम्मा लिँदै आएकाहरुले बचतकर्ताको रकमको अभिलेख नराखी आफूखुसी अपचलन गरेको अनुसन्धानका क्रममा पाइएकाले मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

उनीहरुले बैंकमा जनताको निक्षेप संकलन गरी बचतकर्ताको पासबुक, लेजरमा मात्रै प्रविष्ट गरेको र कार्यालयको नगदी रजिष्टरमा नराखेको, बैंक दाखिला नगरी आफूखुसी बाँडफाँड गरी अपचलन गरेको अनुसन्धानका क्रममा पाइएको आयोगको ठहर छ।

जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन प्रमुख जयलालप्रसाद साह कानू, अदालतप्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव, सुजितकसुमार साह, तत्कालीन नासु बलिरामप्रसाद कुर्मीलगायतले ५ करोड ३५ लाख ६४ हजार २७९ रुपैयाँ बराबरको रकम हिनामिना गरेको आयोगको अभियोग छ।

उनीहरुविरुद्ध कैद, जरिवाना र बिगोसमेत असुल उपर गरी पाऊँ भन्दै आयोगले मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।