‘डिपेन्डेन्ट भिसामा क्यानडा लैजान्छु’ भन्दै ठगी गरेको अभियोगमा एकजना पक्राउ

बिजमाण्डू
२०८२ बैशाख २६ गते १३:३२ | May 9, 2025
‘डिपेन्डेन्ट भिसामा क्यानडा लैजान्छु’ भन्दै ठगी गरेको अभियोगमा एकजना पक्राउ


काठमाडौं। ‘डिपेन्डेन्ट भिसामा क्यानडा लैजान्छु’ भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

Tata
GBIME
NLIC

भक्तपुरको मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर बस्ने दोलखाको वैतेश्वर गाउँपालिका-८ घर भएकी २७ वर्षीया सुजिता अधिकारी पक्राउ परेकी हुन्।

सुजिताले आफूले अध्ययन गर्न क्यानडाको भिसा प्राप्त गरेको र आफूसँगै डिपेन्डेन्ट भिसामा लैजाने प्रलोभन देखाएर २० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको पीडितले प्रहरीमा उजुरी दिएका थिए।

सोही आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अधिकारीलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

यसैबीच, ‘वैदेशिक रोजगारी पठाइदिन्छु’ भन्दै ठगी गर्ने अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-२ बस्ने धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएका ३२ वर्षीय अर्जुन सुर्खेती, काठमाडौंको तार्केश्वर नगरपालिका-५ बस्ने २४ वर्षीय रूपेश ढकाल र दाङको बबई गाउँपालिका-५ घर भएका ५० वर्षीय मोतीसरा खत्री रहेका छन्।

उनीहरूमध्ये अर्जुन र रूपेशले जर्मनी पठाइदिन्छु भन्दै २ जना पीडितबाट ३५ लाख रूपैयाँ लिएका थिए। मोतीसराले अमेरिका पठाइदिन्छु भन्दै ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको पीडितले उजुरी दिएका थिए।

सोही उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले अर्जुनलाई बुढानिलकण्ठ नगरपलिका-८ बाट र रूपेशलाई काठमाडौं महानगरपालिका-१२ बाट बुधबार तथा मोतीसरालाई काठमाडौं महानगरपालिका-१३ बाट बिहीबार पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।