पपुलिजमको प्रतिस्पर्धा क्लाइमेक्समा पुग्यो, अब स्टेरिङ घुमाउन आवश्यक छ : अर्थमन्त्री पौडेल

बिजमाण्डू
२०८२ बैशाख २५ गते १६:१० | May 8, 2025
पपुलिजमको प्रतिस्पर्धा क्लाइमेक्समा पुग्यो, अब स्टेरिङ घुमाउन आवश्यक छ : अर्थमन्त्री पौडेल


काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले बजेट तर्जुमामा पपुलिजमको प्रतिस्पर्धा क्लाइमेक्समा पुगेको भन्दै अब स्टेरिङ घुमाउन आवश्यक रहेको बताएका छन्। उनले स्रोतको दबाबका कारण खुलेर बजेट बनाउन सक्ने अवस्था नरहेको बताए।

Tata
GBIME
NLIC

बिजमाण्डूले बिहीबार गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै अर्थमन्त्री पौडेलले राजस्वले साधारण खर्च धान्नै नसक्ने अवस्था रहेकाले बजेट तर्जुमामा ठूलो चुनौती रहेको बताएका हुन्। उनले सामाजिक सुरक्षाको दायित्वका कारण पनि दबाब रहेको बताए।

‘हाम्रो बजेट विनियोजनको अवस्था के छ भने करोडबाट लाखमा धन्दै धन्दै हजारमा झर्ला कि भन्या जस्तो खालको संघीय सरकारको विनियोजनको अवस्था छ। यो ढंगको विनियोजनबाट हामी पछाडि नफर्किने हो भने वास्तवमा यसै त राजस्वले साधारण खर्च धान्न हम्मे पर्ने अवस्थामा हामी आइपुगेका छौं। अन्तर्राष्ट्रिय सहयोगबारे अनेक प्रकारका सीमाहरु प्रकट भइरहेका छन्। आन्तरिक ऋणका निम्ति पनि हाम्रासामु सीमा छ,’ उनले भने, ‘यस्तो अवस्थामा सीमित स्रोतबाट एकातर्फ साधारण खर्च चलाउनु छ अर्कोतर्फ पुँजीगत खर्चका निम्ति पनि प्रबन्ध गर्नुपर्ने छ। यस्तो अवस्थामा सीमित स्रोतलाई अत्यधिक प्रभावकारी र परिणाममुखी ढंगले कसरी खर्च गर्छौं? यो चुनौती हाम्रो सामुन्ने छ।’

उनले लोकप्रियता आर्जनका लागि बजेट ल्याउने प्रवृत्तिमा अब स्टेरिङ घुमाउनुपर्ने बेला आएको बताए।

‘सामाजिक सुरक्षाका विभिन्न स्किमहरू हामीले संचालन गरेका छौं। सामाजिक सुरक्षाका कार्यक्रमहरुले सिर्जना गरेको दायित्वको व्यवस्थापन हामी कसरी गर्छौ? यस्ता यावत प्रश्न हाम्रा सामुन्ने छन्। हामीसँग बजेट निर्माणका निम्ति त्यस्तो धेरै लग्जरी छैन। हामी यति धेरै यो चाहिँ पपुलिजमको प्रतिस्पर्धा यति क्लाइमेक्समा पुगेको छ कि अब हामीले स्टेरिङ घुमाउनु पर्ने अवस्था सिर्जना भएको छ,’ उनले भने।

अर्थमन्त्री पौडेलले विकास र समृद्धिका लागि स्थिरता आवश्यक रहेको भन्दै निजी क्षेत्रले भोगेका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।

‘निजी क्षेत्र लगायत अर्थतन्त्रका सबै क्षेत्रहरुको आत्मबल, आत्मविश्वास बढाउने र आर्थिक क्रियाकलाप विस्तारका निम्ति अनुकूल परिस्थिति निर्माण गर्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छ। सरकार त्यसका निम्ति प्रतिबद्ध छ,’ उनले भने, ‘यही सोचका साथ आउने वर्षको बजेट खासगरी उत्पादन र उत्पादकत्व बढाउन लगानी वृद्धि गर्न महत्वपूर्ण योगदान दिन सक्नेगरी बजेट आउनुपर्छ भन्ने मलाई लाग्छ। हामी त्यही हिसाबले कोसिस गर्दैछौं।’

उनले साना आयोजनामा पुँजीगत बजेट विनियोजन नगर्ने बताए। ‘संविधानमा तीन तहको सरकारको व्यवस्था गरेका छौं। तर, वडाले गर्ने काम पनि संघीय सरकारको बजेटमा समावेश गर्ने गरेका छौं। अब यसबाट पछि फर्कनुपर्नेछ,’ उनले भने।

उनले बजेटको पूर्वसन्ध्यामा अर्थमन्त्रीका रुपमा आफूले धेरै कुरा बोल्न नमिल्ने बताए। ‘वास्तवमा यो कार्यक्रममा मेरो हैसियत चाहिँ सुन्ने मात्रै हो भन्ने मलाई लाग्छ। भन्ने होइन। बजेटको पूर्वसन्ध्यामा अर्थमन्त्रीले बोल्ने केही चिज हुन्छ जस्तो मलाई लाग्दैन। बजेटको पूर्वसन्ध्यामा अर्थमन्त्रीको हैसियत सुन्ने हो,’ उनले भने।