धनकुटा र सुनसरीबाट ४४ बोरा गाँजा बरामद, ओसारपसारमा संलग्न ३ जना पक्राउ

बिजमाण्डू
२०८२ बैशाख १६ गते १६:१० | Apr 29, 2025
धनकुटा र सुनसरीबाट ४४ बोरा गाँजा बरामद, ओसारपसारमा संलग्न ३ जना पक्राउ

काठमाडौं। गाँजा ओसारपसार गर्नेमाथि निगरानी बढाएको प्रहरीले धनकुटा र सुनसरीका दुई स्थानबाट उल्लेख्य परिमाणमा गाँजा बरामद गरेको छ। गाँजा बोकेको २ वटा सवारीसाधनसहित प्रहरीले ओसारपसारमा संलग्न ३ जनालाई नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

Tata
GBIME

धनकुटाको इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी विट मौनावुधुकबाट खटिएको प्रहरी टोलीले चौबिसे गाउँपालिका-५ बाट ना५ख ६१५७ नम्बरको ट्रकमा लोड भएको अवस्थामा सोमबार राति ३८ बोरा (९ सय ४६ किलोग्राम) गाँजा बरामद गरेको छ।

गाँजा बरामद भएसँगै प्रहरीले ट्रक नियन्त्रणमा लिएको छ भने ओसारपसारमा संलग्न आरोपमा चौबिसे-५ का मनोज लिम्बुलाई पक्राउ गरेको छ।

यस्तै सुनसरीको इलाका प्रहरी कार्यालय सीतागंजबाट खटिएको गस्ती टोलीले बर्जु-३ बाट प्र.१-०२-००२ च ५१२६ नम्वरको पिकअप गाडीमा ६ बोरा (१ सय ९९ किलो ३ ग्राम) गाँजा बरामद गरेको छ। चालक धनकुटा नगरपालिका-९ उद्धव भण्डारी र सहचालक ठाउँका कविराज राईलाई नियन्त्रणमा लिएको छ।