
काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको २५ वटा फर्म माथि अनुसन्धान थालेको छ।
बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण गलत प्रयोजनको लागि प्रयोग गरेको खुलेपछि प्रहरीले प्रसाईंसँगै उनका आफन्तहरु आबद्ध २५ वटा फर्ममाथि अनुसन्धान थालेको हो।
प्रसाईंले बैंक तथा वित्तीय संस्थाहरुबाट गत असोज महिनासम्म ७ अर्ब २५ करोड ८७ लाख रुपैयाँ ऋण लिएको देखिएको छ।
‘काठमाडौं प्रहरीले बयान सकेपछि हामी ल्याएर थप अनुसन्धान गर्छौं। अहिलेसम्म लिएको ऋण फरक प्रयोजनमा प्रयोग गरेको देखियो,’ सीआइबीका एसपी सुधीरराज शाहीले भने।
दुर्गा प्रसाईंलाई चैत १५ गते तीनकुनेमा भएको घटनामा प्रहरीले भारतबाट नियन्त्रणमा लिएको थियो। त्यसपछि उनी हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। ब्यूरोले प्रसाईंविरुद्ध बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान सुरु गरिरहेको छ।
विगत चार वर्षदेखि प्रसाईंको बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रालिलाई प्रवाह भएको कर्जाको भुक्तानी गर्ने भाखा नाघि कर्जाको बक्यौता सावा ब्याज भुक्तानी नियमित नभएको पनि खुलेको हो।
अनुसन्धानको क्रममा तत्कालिन एनसीसी (हालको कुमारी बैंक) बाट पूर्वाञ्चल क्यान्सर अस्पतालको नाममा प्रवाह भएको १२ करोड ५० लाख रुपैया, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक लिमिटेडबाट होटलको नाममा प्रवाह भएको ५ करोड रुपैयाँ र गुडविल फाईनान्स लिमिटेडबाट यु.ए. मेडिको सप्लाइज एन्ड इक्विपमेन्ट प्रा.लि को नाममा प्रवाह भएको १० करोड रुपैयाँ कर्जा जुन प्रयोजनको लागि लिइएको हो सो प्रयोजनमा प्रयोग नगरी अन्यत्र उपयोग गरि दुरुपयोग गरेको देखिन आएको प्रहरीले जनाएको छ।